१८ अर्ब लक्ष्य रहेकोमा १९ अर्ब असुली
जेठमै पूरा भयो नेपालगन्ज भन्सारको लक्ष्य

नेपालगन्ज भन्सार कार्यालयको चालु आर्थिक वर्षको लक्ष्य जेठ महिनामै पूरा भएको छ । कार्यालयले चालू आर्थिक वर्ष सकिन एक महिना अगावै वार्षिक लक्ष्य भन्दा १ अर्ब भन्दाबढी राजस्व असुली गरेको हो ।
कार्यालयको यस वर्षको लक्ष्य १८ अर्ब भएपनि ११ महिनामै १९ अर्ब भन्दा बढी राजस्व असुली गरी वार्षिक लक्ष्य भन्दा १ अर्ब बढी उठाउन सफल भएको कार्यालयका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए ।
गत आर्थिक २०७६/०७७ मा लक्ष्यको ७६ प्रतिशत मात्रै राजस्व असुली गरेको कार्यालयले चालु आर्थिक वर्षमा भने जेठ मसान्तसम्म करिव १९ अर्ब अर्थात ११८ प्रतिशत राजस्व संकलन गरेको हो ।
आर्थिक वर्षको सुरूदेखि नै लक्ष्य भन्दा बढी राजस्व असुली भएपछि भन्सार विभागले गत फागुनमा ३ अर्ब रुपैयाँ वृद्धि गरी १८ अर्ब वार्षिक लक्ष्य तोकेको थियो । तर, कार्यालयले जेठसम्म सो लक्ष्यसमेत सजिलै पूरा गरी लक्ष्य भन्दा १ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरी चालु आर्थिक वर्षमा नयाँ रेकर्ड कायम गरेको हो । यो राजस्व असुली गत आर्थिक वर्ष २०७६/०७७ को कुल असुली भन्दा सवा ७ अर्ब बढी भएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्षको सुरूदेखि नै लक्ष्य भन्दा बढी राजस्व असुली भएपछि भन्सार विभागले गत फागुनमा ३ अर्ब रुपैयाँ वृद्धि गरी १८ अर्ब वार्षिक लक्ष्य तोकेको थियो ।
तर, कार्यालयले जेठसम्म सो लक्ष्यसमेत सजिलै पूरा गरी लक्ष्य भन्दा १ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरिसकेको प्रमुख भन्सार अधिकृत भण्डारीको भनाइ छ । “चोरी पैठारीमा कडाई, जाँचपासमा शुद्धता, अन्तरनिकाय सम्बन्धमा सुधार, अबैध व्यापार नियन्त्रण र वैध व्यापार प्रर्वद्धनलगायतका कारणले यो सफलता मिलेको हो” उनले भने ।
गत वर्ष कोरोना महामारीका कारण लामो समयसम्म लकडाउन हुँदा अवैधरुपमा चोरी निकासी बढेको थियो । जसको प्रभाव राजस्व संकलनमा पर्दा कार्यालयले लक्ष्य भेटन सकेको थिएन । चालु आर्थिक वर्षमा स्थानीय प्रशासन र भन्सार कार्यालयले चोरी निकासीमा कडाई गर्नुका साथै सीमा नाकामा भन्सार गस्ती बढाइएको छ । जसका कारण राजस्व संक्रमण नियन्त्रणका लागि भन्दै वैशाख ९ गतेदेखि निषेधाज्ञा जारी गरिएपनि यस नाका भएर आउने मालवस्तु आयात निर्वाध रुपमा भइरहेको छ । खासगरी नेपालगन्ज भन्सार हुँदै भारतबाट पेट्रोलियम पदार्थ, हवाई इन्धन, चामल, सेरामिक्स, फलाम, आलु जस्ता मालसामानको आयात बढी हुने गरेको छ ।