मस्र्याङदीमा आएको बाढीले मनाङको ताल गाउँ डुबानमा «

मस्र्याङदीमा आएको बाढीले मनाङको ताल गाउँ डुबानमा



सोमबारदेखि परेको अबिरल वर्षाका कारण हिमाली जिल्ला मनाङ प्रभावित बनेको छ । निरन्तर भारी वर्षासँगै मस्र्याङदी नदिमा आएको बाढिको कारण मनाङको सदरमुकाम चामेका केहि घरहरु र नासोङ गाउँपालिका–१, ताल गाउँ डुवानमा परेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामीछानेका अनुसार विभिन्न खोलाहरुमा ठूला ढुँगाहरु सहित आएको बाढीले मस्र्याङदी नदिको बहाव थुनिँदा सदरमुकाम चामेका पाँच घरहरु डुवानमा परेका हुन् । नदिको बहाव थुनिँदा चामे पारिपट्टी रहेका घरहरु डुवानमा पर्दै गएका छन् भने चामेकै तातोपानी कुण्ड बगाएको छ ।


यसैगरी नदिमा पानीको बहाव बढेसँगै मनाङकै नासोङ–१, तालगाउँका अधिकांश घर डुवानमा परीसकेका छन् भने अन्य घरहरु जोखिममा रहेका छन् । करिव ६० घरधुरी रहेको ताल गाउँमा गाउँ नै डुवानको जोखिममा परेपछि स्थानियहरु घर छोडेर अन्यत्र सरेका छन् ।
मस्र्याङदी नदीमा पानीको बहाव बढ्दै जाँदा वस्ती माथि डुबाउँदै आएको स्थानियलाई उधृत गर्दै मनाङ प्रशासनले जनाएको छ । निरन्तरको बर्षा र बाढी सँगै ताल गाउँमा विद्युत तथा टेलिफोन पनि अवरुद्ध भएको छ । थप उद्धारका निम्ती ताल र धारापानीको प्रहरी खटाईएको प्रजिअ लामीछानेले जानकारी दिए ।


बर्षा र बाढीसँगै मनाङका अधिकाँश सडकमा पहिरो गएकोले उद्धारकार्यमा समेत कठिनाई भएको छ । मनाङको सदरमुकाम देखि ताल गाउँसम्म आउने सडक अन्तर्गत खोलामा राखिएका मोटरेवल काठेपुल बगाएको छ । केहिदिन अघिमात्रै तिमाङ खोला र स्यार्कु खोलामा निर्माण गरिएको काठको अस्थायी मोटरेवल पुल बगाएको प्रजिअ लामीछानेले बताए । उद्धारको निम्ती प्रदेश र केन्द्रिय सरकारसँग आग्रह गरेपनि मौसम प्रतिकुल हुँदा तत्कालका लागि उद्दारको सम्भावना नरहेको मनाङ प्रशासनले जनाएको छ ।


सडकमा गएको पहिरो र खोलामा पुल नहुँदा सदरमुकाम देखि प्रभावित क्षेत्रसम्म उद्धार टोलि पठाउन निकै समस्या भएको प्रजिअ लामीछानेको भनाई छ । बर्षाका कारण सदरमुकाम चामेमा रहेको लघु जलविद्युतको टनेप पाईप पनि बाढीले बगाएको छ । स्र्याकु खोलामा रहेको १५ किलोवाट लघु जलविद्युतको टनेल पाईप बगाएसँगै चामेमा पनि विद्युत अवरुद्ध भएको छ ।


सदरमुकाम चामेकै नयाँबजार नजिकैको घट्टेखोलामा पानीको बहाव बढेसँगै वस्तीभित्र बाढी पसेको छ । नयाँबजारको एउटा घर बगाएको र २ वटा क्षतिग्रस्त भएर ढल्ने अवस्थामा रहेको प्रजिअ लामिछानेले बताए । यसअघि जेठ १४ गते पनि चामेको घट्टेखोलामा आएको बाढी नया बजार वस्तीभित्र पसेको थियो । बाढीले केही टहरा, बिजुलीका पोल, सडक क्षतिग्रस्त बनाएको थियो । भौगालिक विकटतासँगै निरन्तरको बर्षा सँगै आएको बाढी पहिरोले मनाङको जनजिवन अति प्रभावित भएको मनाङ प्रशासनले जनाएको छ ।


मनाङ प्रशासनले सार्वजनिक सूचना जारी गर्दै बाढी र पहिरोको जोखिम बढेको भन्दै सचेत रहन आम सर्वसाधरणलाई आग्रह गरेको छ । मनाङसँगै मस्र्याङदी नदिको तटिय क्षेत्र पर्ने छिमेकी जिल्ला लमजुङ, तनहुँ लगायतका प्रजिअ मार्फत सतर्कता अपनाउन आग्र्रह गरेको प्रमूख जिल्ला अधिकारी लामीछानेले जानकारी दिए
अविरल बर्षा सँगै आएको बाढीका कारण लमजुङ पनि प्रभावित बनेको छ । निरन्तर वर्षासँगै आएको बाढीका कारण मस्र्याङदी र दोर्दी कोरीडोर बढि प्रभावित बनेको हो ।


जिल्ला प्रशासन कार्यालयका अनुसार दोर्दी खोलामा आएको बाढीका कारण सोहि कोरीडोरमा रहेका जलविद्युत आयोजनाहरु पनि जोखममा परेका हुन् । दोर्दी खोलामा निर्माणाधिन सुपर दोर्दी जलविद्युत आयोजना, माथिल्लो दोर्दी ए जलविद्युत आयोजना र दोर्दी खोला जलविद्युत आयोजनामा बाढिको असर परेको हो ।


प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुईटेलका अनुसार दोर्दी खोलामा ठूलो पानीको बहाव आएसँगै ५४ मेगावाट सुपरदोर्दी जलविद्युत आयोजनाको सुरुङ भित्र छिरेको छ । निर्माणाधिन सुरुङ भित्र छिरेको पानीले जुनसुकै बेलापनि बस्तीमा असर पर्न सक्ने भन्दै अहिले सुरुङ बन्द गर्ने प्रयास भईरहेको प्रजिअ लुईटेलले जानकारी दिनुभयो । खोलामा आएको बाढीकै कारण लिवर्टी इनर्जी प्रालिले निर्माण गरेको माथिल्लो दोर्दी जलविद्युत आयोजनामा पनि असर गरेको छ । आयोजनाको बाँध क्षेत्रमा बाढीको असर परेको प्रजिअ लुईटेलले जानकारी दिनुभयो ।
यसैगरी हिमालयन पावर पार्टनर प्रालिद्धारा निर्माणाधिन २७ मेगावाट दोर्दी खोला जलविद्युत आयोजनामा पनि मस्र्याङदी नदिको जोखिममा परेको छ । नदिमा बढेको पानीको बहाव सँगै आयोजनाको पावरहाउस जोखिममा परेको प्रजिअ लुईटेलले बताए ।


दोर्दी खोलामा आएको बाढीले केहि साता अघिमात्रै निर्माण सम्पन्न १३२ केभी राष्ट्रिय प्रशारण लाईनमा समेत क्षति पु¥याएको छ । दोर्दी–८, बन्सारस्थित हिलेमा रहेको प्रशारण लाईनको टावर बाढीले ढलाएपछि तार र टावरका कारण स्थानिय झोलुङे पुल पनि जोखीममा परेको छ । टावर ढलेर झोलुङे पुल जोखिममा परेसँगै आवात जावत समेत रोकिएको हाम्रा स्थानिय केदार बोहोराले बताए ।


यसैगरी मस्र्याङदी नदिमा आएको बाढीका कारण उत्तरी लमजुङको ताघ्रिङस्थित बाघेता खेल मैदान बगाएको छ । प्रदेश सरकारको सहयोगमा यहि आर्थिक वर्षमा निर्माण गरिएको उक्त खेल मैदानको करिव आधा भाग बगाएको स्थानियले बताएका छन् ।


बर्षात सँगै बाढी र पहिरोका कारण लमजुङ मनाङ सडक पनि अवरुद्ध भएको छ । बेसीशहर–६, खरखरे भिर र मस्र्याङदी–४, जगतमा पहिरोले सडक अवरुद्ध भएको छ । वर्षातकै कारण जिल्लाका ग्रामिण सडकहरुमा पनि क्षति पुगेको छ ।


कोरोना भाईरस संक्रमण जोखिमसँगै जारी लकडाउनका कारण विगत एक महिना देखि पर्याप्त सवारी गुड्न नपाएका सडकहरु यसैपनि जिर्ण अवस्थामा पुगेका थिए । हाल खाद्यान्न, निर्माण ढुवानी र अति आवश्यक बाहेक जिल्लाका राजमार्ग सहित ग्रामिण भेगमा यातायात शुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्