बजेट दुरूपयोग प्रमुख समस्या : प्रधानसेनापति «

बजेट दुरूपयोग प्रमुख समस्या : प्रधानसेनापति

प्रधानसेनापति पूर्णचन्द्र थापाले बजेट दुरूपयोग नै सेनामा देखिएको मुख्य समस्या रहेको बताएका छन् । बजेट दुुपयोगकै कारण सेनाको आर्थिक प्रशासनमाथि प्रश्न उठ्ने गरेको भन्दै प्रधानसेनापति थापाले अव त्यसलाई नियन्त्रण गरिने दाबी गरे ।
हरेक वर्ष सरकारले साधारण र पुँजीगत शीर्षकमा सेनालाई ५० अर्ब रूपैयाँको हाराहारीमा बजेट विनियोजन गर्दै आएको छ । यसमध्ये पूर्वाधार निर्माण, हवाई साधन खरिद, अन्य योजनालगायतमा हरेक वर्ष सरकारले ८ देखि १० अर्ब बजेट विनियोजन गर्ने गरेको छ । यो बजेटको खर्च पारदर्शीतामाथि नै प्रश्न उठ्ने गरेको छ । “पुँजीगत बजेट दुरूपयोग नै संगठनभित्र देखिएको समस्याको मुख्य जड हो,” सैनिक अधिकृत, पदिक तथा अन्य दर्जालाई एकैपटक निर्देशन दिँदै प्रधानसेनापति थापाले भने, “अब सुधारका प्रयास थालिइसकिएको छ, यसलाई आत्मसाथ गर्नेहरू अघि बढ्छन्, परिवर्तन स्वीकार नगर्नेहरूको रेल छुट्छ ।”
आर्थिक प्रशासनलाई चुस्त र पारदर्शी बनाउन चालू आवका विनियोजित बजेको बाँडफाँड पनि पुनरावलोकन भइसकेको उनले बताए । तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीका पालामा भएका आर्थिक योजनालाई पुनरावलोकन गरेर बजेट विनियोजन गर्ने थापाको तयारी छ । त्यसैअनुसार बजेट तर्जुमा गर्न प्रधान सेनापति थापाले आर्थिक प्रशासन महाशाखालाई निर्देशन दिएका हुन् । “देशभर निरीक्षण भ्रमणका क्रममा केही युनिटका काम कारबाहीमा गम्भीर प्रश्न उठेका छन्, त्यसमा सुधारको खाँचो छ,” प्रधानसेनापति थापाले भने, “यो गल्तीको भागिदार र दोषी कमाण्डर हुन् । सैनिक आचारण उल्लंघन गर्नेमाथि कडा कारबाही हुन्छ ।” अहिलेको चुनौती भनेको सुधार रहेको र यसविरुद्ध लाग्नेलाई आफूले परास्त गर्ने उनले चेतावनी दिए ।
“नेपाली सेनामा सुरु गरिएका सुधारका प्रयास संगठनको अनिवार्य आवश्यकताका आधारमा तयार पारिएको परिवर्तनको सुरुवात हो,” प्रधानसेनापति थापाले भनेका छन्, “सबैभन्दा पहिला संगठनमा रहेका बेथिती, विसंगति सुधार गर्दै लैजाने हो, यसमा कसैको द्वैध मानसिकता रहन जरुरी छैन ।” आर्थिक अनियमितता जुनसुकै दर्जाले गरेको भए पनि क्षम्य नहुने उनको चेतावनी थियो ।

प्रतिक्रिया दिनुहोस्