Logo

‘मेरो कित्ता’बाट करिब ८ सयले लिए सेवा

नापी विभागले आफ्नो सेवाहरू क्रमिक रुपमा प्रविधिमैत्री, झन्झटरहित, चूस्त–दुरुस्त, छिटो, छरितो एवं प्रभावकारी बनाउनका लागि अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न सुरू गरिएको ‘मेरो कित्ता’बाट हालसम्ममा करिब ८ सयले सेवा लिएको छ ।
नापी विभाग अनुसार विभागले सुरू गरेको करिब २ महिनाको अवधिमा ७ सय ९० जनाले सेवा लिएको जनाएको छ । विभागले गत वैशाख २ गते ‘मेरो कित्ता’को उद्घाटन क्रममा उपत्यकाका ३ वटा कार्यालयमा कलंकी, डिल्लिबजार र भक्तपुरमा सुरू गरेको थियो । त्यस्तै, विभागले चालु आर्थिक वर्षमा उपत्यकाका सबै नापी कार्यालयमा ‘मेरो कित्ता’ सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
हालसम्ममा डिल्लिबजार, कलंकी, भक्तपुर र चाबहिल नापी कार्यालयमा मेरो कित्ता सञ्चालनमा ल्याइसकेको छ । सो चारवटै कार्यालयबाट दुई महिनाको अवधिमा ७ सय ९० जनाले ‘मेरो कित्ता’को माध्यमबाट सहजै सेवा लिएको विभागले जनाएको छ । उक्त ‘मेरो कित्ता’ वेवसाइटबाट नक्सा प्रिन्ट तथा राजस्व तिर्न सक्नेछन् । तर, करिब दुई महिनाको अवधिमा सो वेवसाइटबाट अधिकांश नक्सा प्रिन्ट भएको विभागको भनाइ छ ।
कुनै पनि जग्गाधनीलाई आफ्नो नक्सा लिएर धितो राख्न जानु परेको अवस्थामा अनलाइनबाटै आवेदन दिएर प्रिन्ट गर्न सक्ने व्यवस्थाले सहज बनाएको विभागको विश्वास छ । साथै, हालसम्ममा जति पनि सेवाग्राहीले सेवा लिएका छन् । उक्त सेवाग्राहीबाट कुनै पनि गुनासो नआएको विभागको दावी छ ।
त्यसैगरी हाल भने उक्त आवेदन दिनेको संख्या घटेको बताइएको छ । कोरोनाले गर्दा अधिकांश व्यापार व्यवसाय बन्द भएको अवस्थाले गर्दा गर्दा निवेदन दिनेको संख्या न्यून रहेको छ । विभागले चालु आर्थिक वर्षमा उपत्यकाका सबै नापी कार्यालयमा ‘मेरो कित्ता’ सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । सोही अनुसार कार्यहरू भइरहेको नापी कार्यालयले जनाएको छ ।
कोरोनाको संक्रमण नभएको भए हालसम्ममा ५ वटा कार्यालयमा सञ्चालनमा आइसक्ने अवस्था थियो । कोरोनाले गर्दा केही मात्रामा भने जस्तो काम गर्न पाएको छैन । विभागले चालु आवमा उपत्यकामा मनमैजु, साँखु, टोखा र ललितपुरमा सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्