Logo

मातृभाषामा पढाउँदै फाल्गुनन्द गाउँपालिका

पाँचथरको दक्षिणी गाउँपालिका इलाम सिमानासँग जोडिएको फाल्गुनन्द गाउँपालिका हो । यो गाउँपालिकाको जनसंख्या २५ हजार छ
यो गाउँपालिकालाई जम्मा ७ वटा वडामा विभाजन गरिएको छ । साबिकका नवमीडाँडा, इम्बुङ, पौवा सारताप, चिलिङदिन, फाक्तेप र आङसराङ गाविसलाई समावेश गरी यो गाउँपालिका निर्माण गरिएको हो । यस गाउँपालिकाको पूर्वमा इलामको फाकफोकथुम गाउँपालिका र पश्चिममा कुम्मायक गाउँपालिका, उत्तरमा फिदिम नगरपालिका र दक्षिणमा मिक्लाजुङ गाउँपालिका रहेका छन् ।
यो गाउँपालिका पाँचथर जिल्लाको दक्षिण पश्चिम क्षेत्रको दुर्गम स्थानमा रहेको गाउँपालिका हो । यस गाउँपालिकामा ५५ प्रतिशत लिम्बू, १५ प्रतिशत क्षेत्री–बाहुन, १० प्रतिशत राई, १० प्रतिशत तामाङ, ५ प्रतिशत दलित, १ प्रतिशत सुनुवार, १ प्रतिशत मगर, १ प्रतिशत नेवार तथा २ प्रतिशत माझी, कुमाललगायतका अल्पसंख्यक र अन्य जातिको बसोबास छ ।
यो गाउँपालिका सदरमुकाम फिदिमदेखि लगभग १२ कोस टाढा रहेको छ । यो लब्रेकुटी, सिलौटी डाँडा, पौवाभन्ज्याङ, तिजोक डाँडा, नाम्तोक डाँडा, सुकेपोखरीलगायत अन्य थुप्रै प्राकृतिक तथा नाम्सामी–केसामी, युमा माङहिम, सिंहदेवी मन्दिर, निवुखोलास्थित पवित्र तीर्थस्थल साप्सु आदिजस्ता धार्मिक सम्पदाहरूले सजिएर रहेको गाउँपालिका हो । यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यसमा आदिवासी जनजातिको बाहुल्यता रहेको छ ।
फाल्गुनन्द गाउँपालिका १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा नामकरण गरिएको पालिका हो । फाल्गुनन्द गाउँपालिकाको सबै वडामा सडक निर्माण भइसकेको छ । एक वडाबाट अर्को वडा जोड्ने सडकसमेत निर्माण भएको छ । कृषि सडकहरू प्राथमिकतामा राखेर गाउँपालिकाले सडक निर्माण गरेको छ ।
पञ्चमी बजार, नवमी डाँडा हँुदै फिदिम जाने सडक, गोली भन्ज्याङ, आङसराङसम्म ग्राभेल गर्ने र आङसराङदेखि नवमीडाँडा जाने सडक गाउँपालिककाको मुख्य सडक आयोजना रहेको गाउँपालिकाका प्रमुख वीरबहादुर कुरुम्बाङले बताए । त्यस्तै सिलौटीदेखि इम्बुङ, साप्सु हुँदै पञ्चमी आउने सडक पनि गाउँपालिकाको मुख्य प्राथमिकतामा रहेको कुरुम्बाङले बताए ।
फाल्गुनन्द गाउँपालिकाका सबै वडामा बिजुली पुगेको छ । फाल्गुनन्द गाउँपालिकाले अघिल्लो वर्षबाट विद्यालयमा मातृभाषा शिक्षा सुरु गरेको छ । मातृभाषाका शिक्षकहरू राखेर फाल्गुनन्द गाउँपालिकाले लिम्बू र तामाङ भाषामा पढाइ सुरु गरेको फाल्गुनन्द गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए ।
आगामी दिनमा मातृभाषा शिक्षालाई जोड दिने र मातृभाषा शिक्षालाई सहयोग पु¥याउने कार्यक्रम ल्याउने तुम्रोकले बताए । अहिले शैक्षिक सुधारका लागि भौतिक विकासमा ध्यान दिएकोमा अब आगामी दिनमा नतिजामुखी शिक्षामा जोड दिने शैक्षिक कार्यक्रम ल्याउने तुम्रोकले बताए ।
गाउँपालिकाले पालिकाभित्रका दीर्घरोगीहरूलाई आगामी दिनमा निःशुल्क औषधि वितरण गर्नका लागि औषधि बैंकको कार्यक्रम ल्याउने तयारी रहेको प्रमुख कुरुम्बाङले बताए । स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन हुने कार्यक्रम ल्याउने कुरुम्बाङ बताउँछन् ।
फाल्गुनन्द गाउँपालिकाको मुख्य लक्ष्य कृषिमा सुधार रहेको र यसैमा ध्यान दिएको कुम्बाङले बताए । पालिकाले कृषि पकेट क्षेत्र निर्धारण गर्दै उत्पादनमा जोड दिने उनले बताए ।
पालिकाले किबी पकेट क्षेत्र, सुन्तला पकेट क्षेत्र, अकबरे पकेट क्षेत्र निर्धारण गरेर सोहीअनुसारको किसानहरूलाई अनुदान दिएको कुरुम्बाङले बताए । किसानको उत्पादन बिग्रेर खेर जान नदिन गाउँपालिकाले आलु भण्डारण कक्ष निर्माण गरेको र निकट भविष्यमा चिस्यान केन्द्र सञ्चालन गर्ने तयारीमा रहेको कुरुम्बाङ बताउँछन् ।
पशुपालनमा कृषकलाई सहयोग गर्न गाउँपालिकाले कुखुरापालन पाठशाला सुरु गरेको कुरुम्बाङले बताए । खुकुरापालन पाठशालामा कुखुरा पाल्न किसानहरूलाई सिकाइन्छ ।
बंगुर पकेट क्षेत्र निर्धारण गरेर बंगुरपालक किसानलाई अनुदान दिइएको छ । अब गाउँपालिकाले उन्नत जातको बाख्रा, गाई र भैंसीको कृत्रिम गर्भधारणको अभियान सञ्चालन गरिरहेको कुरुम्बाङले बताए ।
फाल्गुन्न्द गाउँपालिकास्थित सिलौटीलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य गाउँपालिकाको रहेको कुरुम्बाङले बताए । बत्तीसे झर्नादेखि लोहाकिलसम्म पदमार्ग निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको कुरुम्बाङले बताए ।
आगामी दिनमा उत्पादन तथा रोजगारमुखी कार्यक्रम ल्याई कोरोनाले थलिएको फाल्गुन्नदको समृद्धिको यात्रा अगाडि बढाउने कुरुम्बाङले बताए ।

प्रतिक्रिया दिनुहोस्