धमाधम उद्योग खुल्दै, रोजगारी कति ?

सरकारले लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति अंगाली औद्योगिक व्यवसाय ऐनमा संशोधन गरेसँगै लगानीकर्ता आकर्षित भएका छन् । लगानीकर्ता ठूला उद्योगतर्फ आकर्षित भएको सरकारी तथ्यांकले देखाएको छ । उद्योग विभागमा पछिल्लो दुई महिनाको अवधिमा १९ वटा ठूला उद्योग दर्ता भएका छन् ।
औद्योगिक व्यवसाय ऐनमा संशोधनसँगै विद्युतको आपूर्ति बढेको र बन्द हड्ताल हुने क्रम घटेका कारण ठूला उद्योग दर्ता गर्ने क्रम बढेको हो । वैशाख महिनायता २५ अर्ब ७५ करोड रुपैयाँ लगानी गरी ७ हजार ५३ जनालाई रोजगारी दिने प्रतिबद्धतासहित १९ ठूला उद्योग दर्ता भएका हुन् ।
दर्ता भएका ठूला उद्योगमध्ये १४ वटा उत्पादनमूलक, २ वटा उर्जामूलक, २ वटा पर्यटनमूलक र एउटा सेवामूलक उद्योग हुन् । गत वर्षको पहिलो दुई महिनामा १० अर्ब लगानीको प्रतिबद्धतासहित १० ठूला उद्योग दर्ता भएका थिए ।
उद्योग विभागका महानिर्देशक शंकर अर्यालले सरकारले गत फागुन महिनामा लगानी सम्मेलनमार्फत लगानीको सुरक्षाको प्रतिबद्धता जनाएका कारण तथा उर्जाको आपूर्तिमा सुधार आएकाले उद्योग खोल्ने क्रम बढेको बताए । उनले लगानीकर्तालाई एकै विन्दुबाट सेवा दिने ऐनको व्यवस्था कार्यान्वयनमा आएपछि उद्योगमा लगानी अझै बढ्ने विश्वास व्यक्त गरे ।
२५ करोडभन्दा बढी स्थिर पुँजी भएका उद्योगलाई ठूला उद्योगको सूचीमा राखिएकामा चैत महिनामा आठ वटा ठूला उद्योग दर्ता भएका थिए । विभागले वैशाख महिनायता कपिलवस्तुमा ३, चितवन, बारा र मोरङमा २/२ तथा पर्सा, सर्लाही, सुनसरी र तनहुँमा १/१ उत्पादनमूलक ठूला उद्योग स्थापनाका लागि अनुमति दिएको छ ।
रसुवा र भोजपुरमा १/१ उर्जामूलक, झापा र रुपन्देहीमा १/१ पर्यटनमूलक र दाङमा एउटा सेवामूलक ठूला उद्योग थपिने भएका छन् । उत्पादनमूलक उद्योगमा १५ अर्ब ३९ करोड, उर्जामूलक उद्योगमा ३ अर्ब ८२ करोड र पर्यटन उद्योगमा १ अर्ब ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता लगानीकर्ताले गरेका छन् ।
विभागका महानिर्देशक अर्यालले फागुन महिनामा सम्पन्न लगानी सम्मेलनमा गरिएको प्रतिबद्धता अनुसार भने उद्योग दर्ता नभएको बताउनुभयो । सरकारले गत फागुनको तेस्रो साता २१ देशका लगानीकर्ताको उपस्थितिमा गरेको लगानी सम्मेलनमा १४ खर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको थियो ।