Logo

जनशक्ति नहुँदा भेन्टिलेटर सञ्चालनमा समस्या


कञ्चनपुरको महाकाली अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति नहुँदा समस्या भएको छ । बढ्दो कोरोना महामारीका बीच अस्पतालमा रहेका भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा समस्या भएको हो ।
“अस्पताको भेन्टिलेटरको अवस्था भन्ने हो भने अस्पतालसँग १३ वटा भेन्टिलेटर छन्, तर १३ मध्ये छवटा भेन्टिलेटर भने सञ्चालनमा रहेका अवस्था छ ।” महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशीले भने, “थप भेन्टिलटर सञ्चालन गर्न जनशक्ति आवश्यक हुन्छ, भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति अस्पतालसँग नहुँदा अस्पतालमा रहेका भेन्टिलेटर पनि सञ्चालनमा ल्याउन समस्या भएको छ ।” अस्पतालमा प्रयोग भएका भेन्टिलेटरमध्ये सञ्चालनमा आएका भेन्टिलेटर भने आईसीयू कक्षमा रहेका छन् । सञ्चालनमा नआएका मध्ये एउटा भेन्टिलेटर बिग्रेको अवस्थामा छ भने बाँकी छवटा भेन्टिलेटर थन्किएको अवस्था रहेको अध्यक्ष जोशीले बताए ।
अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्न दक्ष जनशक्ति चाहिने गर्दछ । तर अस्पतालसँग जनशक्ति भए पनि भेन्टिलेटर सञ्चालन गर्ने जनशक्ति भने नरहेको अवस्था छ । कोरोना महामारीको यस्तो अवस्थामा दिनप्रति दिन संक्रमित हुने र संक्रमित पश्चात मृत्यु हुने क्रम चलिरहेको छ । तर यस्तो अवस्थामा अस्पतालमा रहेका भेन्टिलेटर सञ्चालन नआउँदा आईसीयू आवश्यक हुने बिरामीलाई भने असहज हुने गरेको छ ।
“अस्पतालसँग भेन्टिलेटरमार्फत सञ्चालन गरिएको आईसीयू बेड छवटा छन्, त्यसमा छवटा भेन्टिलेटर प्रयोग गरिएको छ ।” अध्यक्ष जोशीले भने, “अस्पताललाई संघ र प्रदेश सरकारबाट थप भेन्टिलेटर प्राप्त हुने अवस्था पनि देखिएको छ, यस्तै अस्पताललाई दक्ष जनशक्ति उपलब्ध भएको खण्डमा भने अस्पतालले २५ बेडको आईसीयू बेड सञ्चालन गर्ने योजना बनाएको छ तर सञ्चालन गर्नका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा अस्पताललाई समस्या भएको छ ।” अस्पतालमा डाक्टरको दरबन्दी हेर्ने हो भने २८ जनाको हो । तर दरबन्दीभन्दा बढी डाक्टर भए पनि रोग विशेषज्ञअनुसार डाक्टर नहुँदा समस्या भएको उनले बताए ।
भेन्टिलेटर सञ्चालन गर्दा अक्सिजन पनि चाहिने गर्दछ । अहिलेको महामारीमा अक्सिजन अभाव भएको कारणले पनि भेन्टिलेटर सञ्चालनमा ल्याउन केही समस्या थपिएको अस्पतालको भनाइ छ । अस्पतालमा सञ्चालनमा रहेका छवटा भेन्टिलेटर जडान आईसीयू कक्षमा दैनिक रूपमा सिफ्टमा ४० जना जति नर्स आवश्यक हुने गर्दछन् । यसै अनुपातमा डाक्टरको पनि परिपूर्ति हुनुपर्ने हुन्छ । “अस्पताललाई ५० शैय्याको आईसीयू बेड सञ्चालन गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकारले पनि आईसीयूमा लाग्ने बेड उपलब्ध गराएको छ, अब दैनिक रूपमा महामारीबाट संक्रमित हुने र मृत्यु हुने दर पनि उस्तै छ ।” सञ्चालनमा आउन नसकेका भेन्टिलेटर सञ्चालनमा ल्याउन सके संक्रमित बिरामीको उपचार गर्न सहज हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्