राष्ट्रपतिबाट लोकतन्त्रलाई गम्भीर संकटमा लगेको पत्रकार महासंघको ठहर

राष्ट्रपतिबाट संविधानबमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा–रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गर्ने कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको नेपाल पत्रकार महासंघको ठहर छ । जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार चाहिएको छ । अस्पतालमा बेड र अक्सिजन चाहिएको छ । यस्तो गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै राष्ट्रपतिबाट चालिएको जालझेलपूर्ण कदम नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्थाविरुद्धको प्रहार हो । राष्ट्रपतिबाट पछिल्लो दुई दिनमा चालिएका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा छन् । संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ सम्माननीय राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुलाई नेपाल पत्रकार महासंघले यस अघि नै असंवैधानिक कदम भनेर विरोध गरिसकेको छ ।महासंघ संविधानमाथि निर्मम प्रहार हुँदा त्यो प्रहार रोक्नका लागि संविधानको संरक्षक मानिने राष्ट्रपति संस्थासँग आग्रह गर्नु आफ्नो दायित्व ठान्दछ । र, प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपिल गर्छ ।