जीवन रक्षाको निम्ति भूमिका खेल्न सहकारीकर्मीलाई अनुरोध «

जीवन रक्षाको निम्ति भूमिका खेल्न सहकारीकर्मीलाई अनुरोध


भक्तपुर नगरपालिकाको आयोजनामा विश्वव्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि बुधबार भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरूका प्रतिनिधिबीच भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
‘कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहकारी संस्थाको भूमिका’ विषयक भएको कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोभिडविरुद्धको लडाइँमा सबैको एकीकृत सहकार्यको खाँचो रहेको बताउँदै सबैको संयुक्त प्रयासले कोरोनालाई परास्त गर्न सकिने बताए ।
उनले स्वास्थ्य नै अहिलेको प्रमुख प्राथमिकता रहेको हुँदा आफ्नो संस्थाका सदस्यहरूको जीवन रक्षाको निम्ति सहकारीकर्मीहरूले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए ।
भक्तपुर नपाले कोभिड रोकथाम तथा नियन्त्रणमा गरिरहेको विभिन्न गतिविधिबारे अवगत गराउँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाको आइसोलेसन केन्द्रमा अक्सिजन दिनुपर्ने संक्रमितहरूको संख्या बढ्न थालेसँगै अक्सिजनको सहज आपूर्तिका लागि भक्तपुर नपाले ख्वप अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्नेबारे छलफल अगाडि बढाइरहेको र सोको लागि सबैले आ–आफ्नो तर्फबाट आर्थिक तथा भौतिक सहयोगको लागि उनले आग्रह गरे ।
उनले भने, ‘सहकारी संस्था लेनदेनमा मात्र सीमित हुनुहुँदैन, जनतालाई मर्का परेको बेला सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूको निम्ति आवश्यक सहयोग गर्नुपर्छ ।’
उनले सदस्यहरूको संरक्षण गर्ने कर्तव्य सहकारी संस्थाको भएको बताउनुहुँदै आ–आफ्नो क्षेत्रबाट आफ्ना संक्रमित सदस्यहरूको निम्ति आइसोलेसन केन्द्र निर्माणको पनि निम्ति आग्रह गरे ।
उनले सक्षम र क्षमतावान सहकारी संस्थाले आफ्ना सदस्यहरूको निम्ति सार्वजनिक भवन वा पार्टी प्यालेसमा आइसोलेसन केन्द्र सञ्चालन गरी नगरपालिकालाई सहयोग गर्न पनि आग्रह गरे ।
भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा नगरबासीहरूका लागि उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको बताउँदै उहाँले संघीय सरकारसँग भेन्टिलेटर, आइसीयु र अक्सिजन प्लान्टको लागि आवश्यक सहयोगको माग गरेको तर अहिलेसम्म सहयोग प्राप्त गर्न सकेको बताए ।
कार्यक्रममा भक्तपुर नपाबाट सञ्चालित आइसोलेसन केन्द्रको सेवा र अवस्थाबारे जानकारी गराउँदै भनपा–९ का वडाध्यक्ष एवम् ख्वप अस्पताल कोभिड युनिट व्यवस्थापन समितिका संयोजक रबीन्द्र ज्याख्वले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै भक्तपुर नपाले २०७७ वैशाख १७ गतेबाट ख्वप अस्पताल कोभिड युनिट सञ्चालनमा ल्याएको र यो अवधिमा ११६ जना संक्रमितहरूलाई उपचार सेवा दिइसकेकोमा ४० जना निको भएको र हाल ५२ जना उपचाररत रहेको बताए ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले भक्तपुरमा ६४० वटा भन्दा बढी सहकारी संस्था रहेको र ३ लाख ४० हजार सदस्यहरू रहेको बताउँदै नपाले निःस्वार्थ रूपले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्र र अक्सिजन प्लान्टको लागि सहकारी संस्थाहरूले आफूले सक्दो सहयोगको लागि आह्वान गर्नुभयो । उहाँले जिल्ला बचत संघको सामुदायिक विकास कोषको १ लाख रुपैयाँ रकम भक्तपुर नगरपालिकालाई सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेको बताए ।
कार्यक्रमको सञ्चालन भनपा–२ का वडाध्यक्ष एवम् भनपा सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले गरे ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले आ–आफ्नो राय सुझाव राख्नुहुँदै कोभिड नियन्त्रण तथा रोकथाममा भक्तपुर नपाले सञ्चालन गरिरहेको आइसोलेसन केन्द्रमार्फत नगरबासीहरूले आवश्यक स्वास्थ्य उपचार पाइरहनु सकारात्मक रहेको बताए ।
साथै यस विषम परिस्थितिमा कोभिड रोकथाम तथा नियन्त्रणमा भक्तपुर नपाको प्रयास निकै सराहनीय भएको बताउँदै उनीहरूले भक्तपुर नपाको आइसोलेसन केन्द्र सञ्चालन र अक्सिजन प्लान्ट निर्माणको लागि सहकारी संस्थाहरू नपासँग सहकार्य गर्दै अगाडि बढ्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्