एक सातादेखि निरन्तर बजार अनुगमन

खाद्य सामग्रीको मूल्यवृद्धि भएको जनगुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले एक सातादेखि निरन्तर बजार अनुगमन गरिरहेको छ ।
बजारमा म्याद गुज्रेका सामान बिक्री भइरहेको, दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्यवृद्धि भएको गुनासो आएपछि निषेधाज्ञाका क्रममा पनि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।
“अनुगमनमाका क्रममा सबै खुद्रा पसल तथा होलसेल पसलमा म्याद गुज्रेका सामानहरु भेटिएका छन्” सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने, “जारी गरिएको बिलबिजक हेर्दा मूल्यमा अस्वभाविक देखिएन । बजार अनुगमन क्षणिक मात्र नभएर निरन्तर प्रक्रिया हो ।” कसैले छलछाम गरेर अस्भाविक मूल्य वृद्धि गरेको पाइएमा कारवाही गर्ने उनले बताए ।
गत वैशाख २८ गतेबाट जारी बजार अनुगमन जिल्ला सदरमुकाम धादिङबेसीसहित सबै स्थानीय तहमा रहेका बजारको अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख किशोर सापकोटाले बताए ।