सरकारको दौडबाट पछि हट्यो कांग्रेस

संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमत नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारको नेतृत्वको दौडबाट पछि हटेको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नै उभिने भएपनि कांग्रेसले सरकार गठनका लागि बहुमत पु¥याउन नसकेको हो । बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले बहुमत नपुग्ने भएपछि सरकारको नेतृत्वको दाबी गर्ने अवस्था नबनेको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए । साथै उनले एकपटक प्रतिनिधिसभामा विश्वासको मत गुमाईसकेका प्रधानमन्त्री ओलीले धारा ७६ को उपधारा २ बमोजिम जसपासंग मिलेर सरकारको नेतृत्वको दाबी गर्न नमिल्ने तर्क पनि गरे । संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार गठनका लागि निर्णायक मतको रुपमा रहेको जसपामा महन्थ ठाकुर समुह प्रधानमन्त्री ओलीको पक्षमा छन् भने उपेन्द्र यादव समूह विपक्षमा छन् ।