Logo

कांग्रेस महासमिति बैठकको तयारी पूरा

प्रवक्ता भन्छन् : बैठकबाट नयाँ ऊर्जा प्राप्त गर्नेछौं

नेपाली कांग्रेसले बहुप्रतिक्षित महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएकोे जनाएको छ । शुक्रबारबाट शुरु हुने महासमिति बैठक आयोजनास्थल यलम्बर पार्टी प्यालेसमा बिहीबार पत्रकार सम्मेलन गर्र्दै प्रवक्ता विश्वप्रकाश शर्माले बैठकका लागि तयारी पूरा भइसकेको जानकारी दिएका हुन् ।
कांग्रेसले पार्टीको विधानलाई संघीय संरचनाअनुसार परिमार्जन गर्न मंसिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको छ । बैठकको औपचारिक उद्घाटन भने शनिबार बिहान ११ बजे हुनेछ । सोही दिन अपरान्हबाट बन्द सत्र सुरु हुनेछ । पुस ३ गतेसम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक, विधान संशोधनलगायतका प्रतिवेदनमाथि गम्भीर छलफल गरिने कांग्रेस प्रवक्ता शर्माले बताए । ‘‘महासमिति बैठकले आवश्यक परे नेतृत्व र नीति परिवर्तन गर्ने क्षमता राख्छ । यो बैठकबाट हामीले पुरानो दलबाटै नयाँ ऊर्जा प्राप्त गर्नेछौं,’’ बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शर्माले भने ।
कांग्रेसको विधानअनुरुप महाधिवेशन भएको वर्ष बाहेक प्रत्येक वर्ष महासमिति बैठक बस्नुपर्ने प्रावधान छ । १३औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि महासमिति बैठक हुन सकेको छैन ।

यस्तो छ कार्यतालिका
कांग्रेसले सार्वजनिक गरेको महासमिति बैठकको कार्यतालिका अनुसार मंसिर २८ गते शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयमा महासमिति सदस्यको दर्ता एवं स्वागत हुनेछ । मंसिर २९ गते बिहान ११ बजे सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा बैठकको उद्घाटन हुनेछ ।
उद्घाटन समारोह समापनलगत्तै सोही स्थानमा बन्दसत्र शुरु हुनेछ । पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्दसत्रको छलफल चल्ने पार्टी कार्यालयले जनाएको छ ।

बेलुकीको खाना र बासको व्यवस्था आफैं
महासमिति सदस्यहरुले लागि बेलुकीको खाना र बासको व्यवस्था भने आफैंले गर्नुपर्नेछ । बिहानको खाजा, खाना र दिउँसोको खाजा भने पार्टीले व्यवस्था गर्नेछ । पार्टीको सञ्चित कोष र महासमिति बैठकमा सहभागीहरूसँग रजिष्ट्रेसनबापत उठाइएको रकमबाट महासमिति बैठकको आर्थिक व्यवस्थापन गरिएको कांग्रेसले जनाएको छ ।
प्रवक्ता शर्माले महासमिति बैठकका लागि कांग्रेसले कतै पनि चन्दा र सहयोग नउठाएर एउटा नमुना पेश गरेको बताए । पार्टीलाई आर्थिक भार कम गर्नका लागि बासस्थान सहभागीले नै खोज्नुपर्ने व्यवस्थापन समितिका संयोजक तथा काठमाडौ जिल्ला समितिका सभापति सबुज बानियाँले पत्रकार सम्मेलनमा बताए । उनले महासमिति बैठक खर्च १ करोडभन्दा बढी नहुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्