Logo

किसानका समस्याहरूमा केन्द्रित हुन मन्त्रीको निर्देशन


राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीहरूले शपथग्रहण गरेका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालसहित सदस्यहरूले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजीत एक कार्यक्रममा शपथग्रहण गरेका हुन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा.प्रेमप्रसाद दङ्गाललाई सपथग्रहण गराउनु भएको हो । त्यसैगरी अध्यक्ष दङ्गालले नवनियुक्त विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, जीवन्ति पौडेललाई शपथग्रहण गराएका थिए ।
आयोगका रिक्त अध्यक्ष सहित सदस्यहरूको गत वैशाख १९ गतेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो । योसँगै किसान आयोगमा रिक्त सम्पूर्ण पदहरूमा पूर्णता पाएको छ ।
त्यस अवसरमा शपथग्रहण समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री अर्यालले किसानका समस्याहरूमा केन्द्रित रहेर विस्तुत अध्ययन गरी समस्या समाधानमा योगदान गर्न आयोगका पदाधिकारीहरूलाई निर्देशित गर्नुभयो । झण्डै दुईतिहाइ जनसंख्या कृषिमा आधारित रहेको अवस्थामा समग्र कृषि क्षेत्रका समस्याहरूको पहिचान, प्राथमिकीकरण र समाधानका निमित्त स्पष्ट मार्गदर्शन पहिल्याउन आयोग समक्ष रहने मन्त्री अर्यालले अपेक्षा व्यक्त गर्नुभयो ।
मन्त्री अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै कृषि क्षेत्रका मौजुदा नीति, ऐन, नियमलगायतका कानुनी व्यवस्थामा रहेका नीतिगत भिन्नतालाई समयसापेक्ष सुधारका सम्बन्धमा राय, नयाँ नीति, ऐन वा नियमावली निर्माणमा सहयोग, किसान कल्याणकारी योजना तर्जुमा, किसान पहुँचको सुनिश्चितता, बजार सरलीकरण, कृषि पेशालाई आकर्षित एवं सम्मानित बनाउन आवश्यक सुझाव तथा पहलकदमी, किसान संघसंगठनरूको दर्ता तथा नियमन लगायतका कार्यहरूमा नेपाल सरकारलाई सल्लाह, सुझाव सहितका कार्यहरू निरन्तर रूपमा अगाडि बढाउन आयोगका पदाधिकारीसँग अपेक्षा व्यक्त गरे ।
कोरोना महामारीले कृषि क्षेत्रमा पारेका असरहरूको अध्ययन गर्दै किसानलाई आवश्यक उत्पादन सामग्रीको उपलब्धता तथा उत्पादन भएका कृषि उपजहरूलाई बजारको सुनिश्चिततामा समेत आवश्यक सुझाव नेपाल सरकारलाई पेश गर्न उनले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्