Logo

कोरोना त्राससँगै जुम्लामा खाद्य संकट निम्तिदै


दोस्रो लहरको कोरोना महामारी सँगै जुम्लामा खाद्य संकट निम्तिने संकेत देखिएको छ । आफ्नै उत्पादनले ६ महिना नधान्ने, खाद्यकै चामलमा निर्भर जुम्ली नागरिकले कोरोना महामारीको त्रास संगै खाद्य संकट पनि झेल्नु पर्ने समस्या आएको छ ।
जुम्लाका धापा र जुम्लाकोट डिपोमा चामल नआएको महिनौं बित्यो । सदरमुकामको डिपोमा पनि बिक्री गरेको खण्डमा एक हप्ता नपुग्ने खाद्यन्न छ । महामारी बढ्दै गएको र खाद्य संस्थानमा स्थानीयको भीड लाग्न थालेका छन् ।
खाद्य संस्थान व्यापार कम्पनीको केन्द्रीय कार्यालयले जुम्लाका धापा र जुम्लाकोट डिपोमा वार्षिक १÷१ हजार क्विन्टल चामलको कोटा छुट्याएको छ । तर, ठेकेदारले आर्थिक वर्ष सकिन लाग्दासमेत चामल ढुवानी नगर्दा समस्या भएको खाद्य व्यापार कम्पनी जुम्लाका प्रमुख तिलक सुनारले बताए ।
उनले भने, “जुम्लाको खाद्य व्यापार कम्पनीमा पनि चामल अभाव हुन थालेको छ । ‘अहिले गोदाममा ८ सय ८० क्विन्टल चामल मात्रै मौज्दात छ । यो चामल बिक्री गरिए २ दिनमै सकिन्छ । अब गोदाममा ताला लगाउनुको विकल्प छैन ।”
जुम्लाको वार्षिक कोटा ५ हजार ६ सय ५० क्विन्टल चामल हो । जसमध्य ९ सय क्विन्टल डोल्पाको सर्मी र काईगाउँ डिपो पठाउनुपर्छ । भने, जुम्लाका लागि ४ हजार २५० क्विन्टल मात्रै बाँकी रहन्छ ।
आफ्नो उत्पादनले ६ महिना नपुग्ने जुम्लामा वार्षिक ४ हजार क्विन्टल चामलले वर्षदिन धान्न मुस्किल रहेको प्रमुख सुनारको भनाइ छ । चालू आर्थिक वर्षको ३ महिना अझै बाँकी रहेको र वैशाखमै चामल सकिन थालेपछि खाद्यमा पुगेका स्थानीयलाई रित्तै पठाउनुपर्ने अवस्था आएको खाद्य प्रमुख तिलक सुनाले बताए ।
वार्षिक कोटामध्ये ५ हजार १९३ क्विन्टल ढुवानी भई वितरण भइसकेको छ । भने, ठेकेदारले अझै ४ सय ५६ क्विन्टल चामल ढुवानी गर्न बाँकी रहेको छ । तर, आर्थिक वर्ष सकिन लाग्दासमेत कहिले ढुवानी गर्ने टुंगो छैन् । ढुवानी कर्तालाई पटक–पटक ताकेता गर्दा पनि अझैगाउँका डिपोमा २ हजार क्विन्टल चामल ल्याएको छैन् । गाउँका डिपो रित्तो भएपछि सदरमकुाम आउँछन् सदरमुकाममा पनि चामल दिन अबस्था नभएपछि रित्तै घर फर्किनुपर्ने बाध्यता आइपरेको छ ।
तातोपानी गाउँपालिका–७ का अनिल रावतले खाद्यको चामल पाउन मुस्किल भएपछि बजारको महँगो चामल किन्न बाध्य भएको बताए । गाउँबाट एकदिन बास बसी खाद्यमा चामल लिनआउनुपर्छ । तर चामल सकिएको भन्ने जवाफ पाएर रित्तै फर्किने गरेको उनको गुनासो छ । अनिल रावत जस्तै सयौं नागरिक सदरमुकाम खाद्य संस्थानबाट चामल नपाएर रित्तै फर्किने गरेका छन् ।
जुम्लामा झन्डै २० हजार घरधुरीको १ लाख ९ हजार बढी जनसंख्या रहेको छ । यहाँको उत्पादनले बढीमा ६ महिना मात्रै धान्ने गरेको कृषि कार्यालय जुम्लाको तथ्यांक छ । बाँकी ६ महिना खाद्य संस्थान र बजारको चामलले खाद्यान्न पूर्ति गरिँदै आएको छ ।
अहिले जुम्लाका गाउँका डिपोदेखि सदरमुकामको डिपोमा चामल अभाव भएपछि स्थानीय महँगीको मारमा परेका छन् । यता व्यापारीले कोभिड र खाद्यको चामल अभाव भएको मौका छोपी मनपरी मूल्यवृद्धि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्