सरकार संवेदनशील छ, जनता पनि सचेत हुनुपर्यो : प्रधानमन्त्री «

सरकार संवेदनशील छ, जनता पनि सचेत हुनुपर्यो : प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशिल रहेको भन्दै संयम हुन सबैलाई अपिल गरेका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकको जीवनरक्षा पहिलो दायित्व हो भन्नेमा सरकार दृढ रहेको र कोभिड १९ को दोश्रो लहरको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रीत रहेको बताएका हुन् । उनले भने, “कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित हुन नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्नेमा सरकार संवेदनशिल छ । नागरिकको जीवनरक्षा यस सरकारको पहिलो दायित्व हो भन्नेमा म पुनः जोड दिन चाहन्छु ।”
विगतको भन्दा पछिल्लो संक्रमण निकै घातक भएको भन्दै उनले दोश्रो लहरको महामारीको रोकथाम र नियन्त्रणका लागि सरकारका सबै संयन्त्रहरु परिचालित भएको, संक्रमणको सांग्लो चुँडाउन निषेधाज्ञालाई केही कडाई गरिएको र यसलाई प्रभावकारी ढंगले लागु गर्न सबैबाट सहयोग हुने अपेक्षा सरकारले गरेको बताए । उनले सरकारले कोभिड १९ को दोश्रो लहर रोकथाम र नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य मापदण्ड उलंघन गर्नेलाई कारवाही गरिने बताए । उनले सरकारले जारी गरेको बन्दाबन्दी वा निषेधाज्ञाका कारण कसैलाई भोकै मर्नुपर्ने अवस्था आउन नदिने आश्वासन दिए । सरकारले हर हालतमा आफ्नो दायित्व पुरा गर्ने भन्दै उनले धैर्य र संयम भई स्वास्थ्य मापदण्डहरु पालना गर्नुको साथै सरकारले जारी गरेका निर्देशन पालनामा सहयोग गर्न सबैलाई आग्रह गरे ।
उनले भने, “निषेधाज्ञाका कारण कसैलाई पनि भोकै मर्न नदिनेमा सरकार सचेत रहनेछ । महामारी नियन्त्रण भएसँगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने छ । महामारीको संक्रमण बढ्न नदिन सरकारले हर हालतमा आफ्नो दायित्व पूरा गर्छ । यसलाई प्रभावकारी बनाउन सरकारको साथै आम नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । त्यसैले सरकारले जारी गरेका निर्देशन पालन गरी घरमै बसौं । धैर्य गरौ । संयमता अपनाउँ । सावधान होऔ तर आतंकित नबनौं ।”
सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैयामध्ये प्रयोग भएका र नभएका शैयाको दैनिक विवरण अध्यावधिक गरी सो को विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनुपर्ने प्रधानमन्त्रीले बताए । अस्पतालहरुले आपतकालिन समयमा बेड भएर पनि उपलब्ध नगराई लुकाएको पाईएमा सरकारले त्यस्ता अस्पताललाई कारवाही गर्ने उनले चेतावनी दिए ।
सरकारले ठूला अस्पताल र मेडिकल कलेजमा अक्सिजन प्लाण्टको स्थापना गर्ने भएको छ । प्रधानमन्त्रीले लिक्विड अक्सिजन निर्यात गर्नेलाई कडा कारवाही गरिने बताए । देशभरका अक्सिजन प्लाण्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्रै प्रयोग गर्ने गरि अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको पनि उनले जानकारी दिए । कोभिडको उपचारमा प्रयोग हुने एन्टीभाइरल र अन्य जीवनरक्षक औषधी प्रत्येक अस्पतालले मौज्दातमा राख्न पनि सरकारले निर्देशन दिएको छ ।
यसैगरी सरकारले कोभिड १९ को संक्रमणका विरामीको उपचारमा परिचालन हुने चिकित्सक, ओसार पसार, शब व्यवस्थापन, सरसफाई लगायत सबै क्षेत्रका कर्मचारीहरुलाई सुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउनुको साथै परिवारको उपचार र विमाको व्यवस्था गर्ने भएको छ । सरकारले सबै नागरिकलाई निशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको र त्यसका लागि आवश्यक मात्रामा खोप खरिद प्रक्रिया सुरु गरिसकेको प्रम ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्