Logo

डडेल्धुरामा आइतबारदेखि निषेधाज्ञा

डडेल्धुरामा पनि वैशाख १९ गते आइतबारदेखि एक हप्ताका लागि निषेधाज्ञा (लकडाउन) जारी गरिने भएको छ । विश्वभर फैलिएको नयाँ भिरियन्टसहितको कोरोना भाइरसको संक्रमण दर जिल्लामा पनि उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक हप्ता निषेधाज्ञा जारी गरेको हो ।
शुक्रबार बसेको जिल्ला स्तरीय सर्वदलीय, सर्वपक्षीय बैठकले निर्णय लकडाउन गर्ने निर्णय गरेको हो । वैशाख १९ गते आइतबार बिहान ६ बजेदेखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन । अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन् ।
यस्तै खाद्य सामग्रीका पसलहरु बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइनेछ ।
‘निषेधाज्ञा लागेपछि अतिआवश्य कामकाज बाहेक हिँडडुल गर्न पाइने छैन । यस्तै निषेधाज्ञाको अवधिभर औषधी पसल, खाद्य पसल तथा समाग्री बाहेक अन्य पसल सबै बन्द रहने छन् । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द रहनेछन् । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन ।
पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवत–जावत गर्न पाउने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्