इन्धन भन्डारण पहिलो प्राथमिकता: आपूर्ति मन्त्री

आपूर्तिमन्त्री जयन्त चन्दले मुलुकमा इन्धन भन्डारण क्षमता वृद्धि गर्नु नेपाल आयल निगमको पहिलो प्राथमिकतामा रहेको बताएका छन् । निगमको ४८ औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै आपूर्ति मन्त्री चन्दले इन्धनको खपत बढ्दै गएकाले आपूर्ति सहज पार्न भन्डारणस्थल निर्माणको कामलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।
“इन्धनको सुरक्षालाई प्रत्याभूति गर्नु अहिलेको आवश्यकता हो,” मन्त्री चन्दले भने, “दिनदिनै बढ्दै गएको इन्धनको माग धान्दै आपूर्ति व्यवस्था सहज पार्न भन्डारणस्थल निर्माण गर्न आवश्यक छ ।” इन्धन राष्ट्रिय सुरक्षा र मुलुकको प्रतिष्ठासँग जोडिएको विषय भएकाले पनि नियमितरूपमा आपूर्ति व्यवस्था मिलाइनुपर्ने उनको भनाइ छ । मन्त्री चन्दले निगमलाई संवेदनशील र पारदर्शी भएर काम गर्न निर्देशनसमेत दिए ।
आपूर्ति सचिव अनिलकुमार ठाकुरले डेढ खर्ब रूपैयाँ भन्दा बढीको इन्धन कारोबार गर्ने निगमले व्यापारिक योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । “इन्धनको खपत बढ्दै गएकाले भन्डारण व्यवस्थापनमा आगामी दिनमा चुनौति आउने देखिन्छ,” सचिव ठाकुरले भने, “पेट्रोलियम पाइपलाइनमार्फत इन्धन आयात गर्दा सहज हुने भएकाले सो काम समयमै सम्पन्न गर्नुपर्छ ।”
निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले इन्धन आपूर्ति व्यवस्थालाई सहज र पारदर्शी ढंगले अगाडि बढ्दै जाने बताए । “निगमले गर्दै आएको व्यापारलाई विविधीकरणको स्रोत पहिल्याएर अगाडि बढ्दै छौं,” निमित्त कार्यकारी निर्देशक भट्टराईले भने, “निगम व्यवसायमुखी भन्दा पनि उपभोक्तामुखी भएर काम गर्न प्रतिबद्ध छ ।”
उनले बजारमा इन्धनको खपत बढ्दै गएकाले आगामी आर्थिक वर्षमा दुई खर्ब रूपैयाँ बराबरको कारोबार हुने बताए । “खर्बौं रूपैयाँको कारोबार गर्ने संस्थानको चुक्तापुँजी अत्यन्त न्यून रहेकाले पुँजी वृद्धि गर्ने तयारीमा लागिरहेका छौं,” उनले भने । निमित्त कार्यकारी निर्देशक भट्टराईले स्वचालित मूल्यले आपूर्तिलाई निरन्तरता दिने र निगमलाई बचाई राख्ने भएकाले सोहीअनुसार लागू गरिएको बताए
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले इन्धन कारोबारमा चुनौति देखिएकाले निगम र व्यवसायीबीच कार्यगत एकता हुनुपर्ने बताए । उनले निर्णयलाई पारदर्शी बनाउन निगमलाई सुझाव दिए ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्वप्रसाद अर्यालले इन्धन ढुवानीलाई वैज्ञानिक बनाउन व्यवसायी तयार रहेको बताए ।
हवाई इन्धनमा पनि स्वचालित मूल्य
नेपाल आयल निगमले हवाई इन्धनमा पनि स्वचालित मूल्य लागू गर्ने भएको छ । डिजेल, पेट्रोल र एलपी ग्यासमा स्वचालित मूल्य लागू गरेको निगमले आगामी फेब्रुअरीदेखि हवाई इन्धनमासमेत लागू गर्ने भएको हो ।
२०७१ असोजदेखि निगमले डिजेल र पेट्रोलमा स्वचालित मूल्य लागू गरे पनि पूर्णरूपमा कार्यान्वयमा आउन सकेको थिए । गएको डेढ महिना यता भने निगमले स्वचालित मूल्य पूर्णरूपमा कार्यान्वयनमा ल्याएको हो । स्वचालित मूल्यअनुसार अन्तर्राष्ट्रिय बजारअनुरूप स्थानीय बजारमा मूल्य समायोजन हुने गर्छ । स्वचालित मूल्य लागू गर्दा घाटा बेहोर्न नपर्ने निगमको भनाई छ । स्वचालित मूल्यअनुसार प्रत्येक १५-१५ दिनमा मूल्य समायोजन गर्नुपर्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्थानीय बजारमा पनि बढ्ने र घट्दा घट्ने हुन्छ ।