Logo

गुर्जामा इन्टरनेटको पहुँच विस्तार

म्याग्दीको दुर्गम गाउँ गुर्जामा थ्रिजी सेवा पुगेको छ । सदरमुकाम बेनीदेखि २६ कोष पश्चिममा अवस्थित धवलागिरी गाउँपालिका –१ गुर्जामा रेडियो लिङ्कमार्फत थ्रिजी सेवा सुरु गरिएको हो ।
गुर्जा गाउँका बासिन्दा भरपर्दो सञ्चार सेवाबाट वञ्चित थिए । नेपाल टेलिकमले रेडियो लिङ्क जडान गरेसँगै मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पुगेको हो । पहिलोपटक इन्टरनेट चलाउन प्रयोग हुने थ्रिजी सेवा सञ्चालनमा आएपछि गुर्जावासी खुशी छन् । विसं २०७१ मा भिस्याट प्रविधिमार्फत मोबाइल सेवा पुगे पनि त्यसको क्षमता सीमित थियो । घाम लाग्दा मात्र नेटवर्क आउने स्थिति थियो ।
वडा नं ४ को बगरामा टावर राखेर रेडियो लिङ्कमार्फत गुर्जामा थ्रिजी सेवा पु¥याइएको टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनियर केशव शर्माले बताए । बगराको रिपिटरलाई मालिका गाउँपालिका–३ को रुम गाउँमा रहेको बिटियस टावरमा लिङ्क गरिएको उनको भनाइ छ । माइक्रोवेभ रेडियो लिङ्क जडानपछि गुर्जा र बगरा गाउँका ५५० घरधुरी लाभान्वित भएका छन् ।
धौलागिरि आधार शिविर, सिनकुस, दुर्कोट, दोभान, धौलागिरि पदमार्गलगायतका क्षेत्रमा नेटवर्कको पहुँच विस्तार भएको छ । धौलागिरि पदमार्ग भएर आहोरदोहोर गर्ने पर्यटकले समेत सहजरुपमा इन्टरनेट सेवा पाउनेछन् । सेवा विस्तारको काममा गाउँपालिका र स्थानीयवासीले ठूलो सहयोग गरेको वरिष्ठ इञ्जिनीयर शर्माले बताए । टेलिकमका प्राविधिक विकट भूगोल र प्रतिकुल मौसमका बाबजुद एक हप्तासम्म गुर्जा र बगरामा खटिएका थिए ।
धौलागिरि गाउँपालिकाले पोल खरिद र ढुवानीका लागि रु डेढ लाख सहयोग गरेको थियो । गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले मोबाइल र तीव्र गतिको इन्टरनेट सेवाले दुर्गम गुर्जावासीको दैनिकी सहज बन्ने बताइन् ।
गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले मोबाइलमा इन्टरनेट चलाउन पाउँदा गाउँले खुशी छन् भने । अहिले सबैतिर सजिलै फोन लाग्छ, थ्रिजी सेवाले इन्टरनेट सेवा पनि भरपर्दो भएको छ । जसका कारण मोबाइल प्रयोगकर्ताले ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा पाउन थालेका छन् छन्त्यालले भने ।

प्रतिक्रिया दिनुहोस्