Logo

४४ च्याङ्ग्रा ८ भेडा मरे, थप केही घाइते

मनाङमा हिम चितुवाको आक्रमण

Ìàíàíã

हिमाली जिल्ला मनाङमा एउटै चितुवाले ४४ वटा च्याङ्ग्रा र आठवटा भेडा मारेको छ । मनाङको नार्पाभूमि गाउँपालिकाअन्तर्गत फु गाउँमा खोरमा थुनिएका च्याङग्रा भेडा चितुवाले मारेको हो ।
स्थानीय तेन्जिङ घलेको खोरमा राति थुनेको बेला हिम चितुवा पसेर ४४ वटा च्याङ्ग्रा मारेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । बुधबार बिहान च्याङ्ग्राको गोठमा पुगेका किसानले हिउँ चितुवाले खोर भित्रै च्याङ्ग्रा खाँदै गरेको अवस्थामा भेटेका थिए । च्याङग्रा खोरबाट भागेको चितुवा अर्कै घरको खोरमा पसेर पुनः आठवटा भेडा मारेको प्रजिअ लामिछानेले बताए ।
हिउँ चितुवाले ठूलो संख्यामा च्याङ्ग्रा भेडा मारेपछि स्थानीय गाउँलेहरूले जिल्ला प्रशासन कार्यालय मनाङ, अन्नपूर्ण संरक्षण क्षेत्र र नेपाल प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खवरपछि जिल्ला प्रशासन कार्यालय मनाङले नार्पाभूमि च्याखुमा रहेको नेपाल प्रहरी र अन्नपूर्ण संरक्षणका कर्मचारीलाई पठाएको थियो । प्रहरी र स्थानीयले सो हिम चितुवालाई लखेटेर भगाएका थिए ।
स्थानीयले चितुवालाई नियन्त्रणमा लिएर मार्नसक्ने भए पनि संरक्षण क्षेत्र भित्र लोपोन्मुख प्रजातिको जनवार भएर लखेटिएको मनाङ प्रशासनले जनाएको छ । चितुवाको आक्रमणबाट थप पाँच÷सातवटा भेडा च्याङ्ग्रा घाइते भएका स्थानीयले बताएका छन् । पीडित किसानहरूले भने सम्बन्धित निकायले राहत उपलब्ध गराउन माग गरेका छन् ।
हिउँ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो, जुन दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रमा पाइन्छ । हिउँ चितुवा समुद्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाइबीचका चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छन । लुकेर रहने स्वभाबको कारण यिनिहरूको सही संख्या थाहा हुन सकेको छैन । तापनि खुला जंगली क्षेत्रमा ३,५०० देखि ७,००० को संख्यामा तथा विश्वका चिडियाघरहरूमा ६०० देखि ७०० को संख्यामा हिउँ चितुवाहरू रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्