मेगा क्यूआर कोड जोरपाटीको तरकारी बजारमा
मेगा बैंक नेपालले काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्यूआर कोडबाट भुक्तानी गरी सो सेवाको शुभारम्भ गरे ।
कार्यक्रममा ८० जना तरकारी बिक्रेतालाई क्यूआर कोड वितरण गरिएको थियो । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेलले नगदको कारोबार कम गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न अहिले विश्वभरि नै प्राथमिकता दिइएको बताउँदै नेपालमा पनि डिजिटल भुक्तानीको तीव्र विस्तार भइरहेकोमा आफूलाई खुसी लागेको बताए । डिजिटल भुक्तानीको ब्यवस्थाले नेपाल पनि आधुनिकीकरणतर्फ गइरहेको उनले बताए ।
मेगा बैंककी सिइओ खुञ्जेलीले नोटबाट कारोबार गर्दा कोरोना संक्रमणको समेत जोखिम रहेकाले डिजिटल भुक्तानीलाई मेगा बैंकले प्राथमिकता दिइरहेको बताइन् । क्यूआर कोडबाट कारोबार गर्दा उत्पादक, बिक्रेता तथा खरिदकर्ता सबैलाई बैंकिङ प्रणालीमा जोडिनु पर्ने भएकोले गर्दा यसबाट हुने पारदर्शिताको कारण कसैलाई पनि असहज कारोबार नहुने बताइन् ।
एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले फोन पे नेटवर्क अन्तरगतको मेगा क्यूआर कोडबाट कारोबार गर्दा रकम सिधै बैंकिङ प्रणालीमा जाने हुँदा बैंक तथा प्रयोगकर्तालाई पनि सहज र सुलभ भइरहेको बताए ।