नयाँ सरकार गठनको गृहकार्य घनिभूत बनाउने माओवादीको निर्णय
नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको गरेको छ ।
मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको स्थायी कमिटीको बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको भन्दै प्रतिगमनका विरुद्ध संघर्ष गर्ने लोकतन्त्र पक्षधरहरुको सरकार बनाउन छिट्टै निष्कर्षमा पुग्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले बताए ।
उने भने, ‘कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत पार्ने उद्देश्यसहित विर्सजनवादी आक्रमण गरेको, नेपालको राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको परिस्थितिमा यो प्रतिगामी सरकारलाई हटाएर प्रतिगमनका विरुद्ध संघर्ष गर्ने संविधान र लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र सम्वादलाई तिव्र रुपमा घनिभूतता दिने र छिट्टै यस सम्बन्धमा निष्कर्षमा पुग्ने भन्ने निर्णय लिइएको छ ।’
बैठकले देशमा कोभिड–१९ को दोस्रो लहर आएकाले कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन सहजीकरणको काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशित समेत गरेको छ । सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापन प्रति गम्भिर नभएको भन्दै बैठकले सरकारलाई आफूले घोषणा गरेका आचरणहरुलाई लागू गर्न पनि आह्वानसमेत गरेको छ ।
नेता श्रेष्ठले भने, ‘अहिले देशमा फेरी कोभिड–१९ को दोस्रो लहरले तिव्र रुप लिन थालेको छ । यस सन्दर्भमा हाम्रो पार्टीले आफ्नो सम्पूर्ण पार्टीका नेता, कार्यकताहरुलाई सहजीकरण र सहयोगका कामहरुमा संलग्न भएर संक्रमणबाट बच्न र सिङ्गो समाजलाई संक्रमणबाट बचाउन वा संक्रमितहरुलाई सहयोग गर्न निर्देशित गरेको छ । यस सन्दर्भमा सरकारले आफैले गरेको निर्णयहरुको विरुद्ध आचरण गरेकोमा सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भिर नभएका कुराका निम्ति हामीले दुःख पनि प्रकट गरेका छौँ । आफैले घोषणा गरेका सम्पूर्ण आचरणहरुलाई लागू गर्न सरकारलाई हामीले आह्वान पनि गरेका छौँ ।’
सरकारले संसदको अधिवेशन अस्वाभाविक र हठात् ढङ्गले अन्त्य गरेकोमा स्थायी कमिटीले भत्र्सना समेत गरेको छ । संसद अधिवेशन अन्त्यलाई सरकारको अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी कमदको अभिव्यक्तिको रुपमा लिएको नेता श्रेष्ठले बताए ।
सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै नेता श्रेष्ठले वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको पनि स्पष्ट पारे । देशमा चुनाव घोषणा हुने र चुनाव नहुने गरी संविधान र लोकतन्त्रमाथि खतरा पैदा हुने स्थिति नआओस् भन्नका लागि आफूहरुले सुविचारित ढङ्गले कदम चाल्ने पनि उनले बताए ।
उनले भने, ‘यो सरकारलाई हाम्रो समर्थन छैन । यो सरकारलाई हामीले कसरी अहिले औपचारिक रुपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने मात्रै बाँकी छ । यो सरकारलाई विस्थापित गरेर वैधानिक रुपले अर्को सरकार बनाउने प्रक्रियाको पहलकदमी र नेतृत्व गरिरहेको हाम्रो पार्टीले यो सरकारको समर्थनलाई कुनैपनि कोणबाट अगाडि बढाउन सक्दैन । राजनीतिक अन्योलको स्थिति सिर्जना नहोस्, यो देशमा संविधान र लोकतन्त्रमाथि खतरा हुनेगरी चुनाव घोषणा हुने र चुनाव चाहिँ नहुने स्थितितिर देश नधकेलियोस् । त्यसकारणले हामीले सुविचारित ढंगले कदम चाल्ने पक्षमा मात्रै हौँ । त्यसैले यसमा कुनै भ्रम नराखे हुन्छ ।’
केन्द्रीय कार्यालयको तर्फबाट बैठकमा रिपोर्टिङ गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको मुख्य कार्यभार वर्तमान राजनीतिक परिवर्तनको रक्षा गर्नु र देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएको नेता श्रेष्ठले जानकारी दिए । वर्तमान सरकारको विस्थापन केवल सरकारको विस्थापन मात्रै नभई राष्ट्रियता र लोकतन्त्रको रक्षा गुर्न पनि रहेको अध्यक्ष प्रचण्डको भनाइ रहेको श्रेष्ठले बताए ।
स्थायी कमिटीको बैठक बुधबार दिउँसो १ बजे पुनः बस्ने बताइएको छ । बुधबारको बैठकमा पार्टीको विधान संशोधन लगायतका विषयमा छलफल हुने नेता श्रेष्ठले बताए ।