Logo

वित्तीय साक्षरतामा रमेको नेपाली युवा फोब्र्सको सूचीमा

वित्तीय साक्षरतामा रमेको एउटा नेपाली युवा यसपटक विश्व प्रसिद्ध फोब्र्स म्यागजिनको ३० वर्षुनिका प्रभावशाली युवाको सूचीमा पर्न सफल भएका छन् । सन् २००९ यता वित्तीय साक्षरता कार्यक्रम चलाइरहेका फिनलिट नेपालका संस्थापक प्रकाश कोइराला फोब्र्सको ३० वर्षमुनिका प्रभावशाली युवाको सूचीमा परेका हुन् ।
मंगलबार सार्वजनिक गरिएको सूचीमा उनीसँगै ‘इन्टरटेन्मेन्ट एण्ड स्पोर्टस्’ विधाबाट गौरिका सिंह पनि प्रभावशाली युवाको सूचीमा परेकी छन् ।
गत वर्षझैं यसपटक पनि एसियाका प्रभावशाली ३० युवाको सूचीमा नेपालका दुई जना परेका हुन् । गत वर्ष चारजना नेपाली युवा उक्त सूचीमा परेका थिए ।
‘फाइनान्स एण्ड भेन्चर क्यापिटल’ विधामा एसियाका प्रभावशाली ३० वर्षमुनिका ३० युवाको सूचीमा परेका प्रकाश कोइराला आफू अब डिजिटल वित्तीय साक्षरतामा काम गर्ने बताउँछन् । वित्तीय समावेशीकरणको लागि वित्तीय साक्षरताको एकमात्र लक्ष्य बोकेर हिँड्दा कुनै समय नेपालमा काम गर्न गाह्रो भएकोले के गर्ने नगर्ने स्थितिमा पुगेका कोइराला फोब्र्सको एसियाका प्रभावशाली ३०–३०को सूचीमा परेपछि अब आफ्नो सहकार्य मजबुत बनाउँदै निम्न आय भएका मानिसहरुमा आधारभूत वित्तीय शिक्षा प्रदान गर्ने लक्ष्यमा बल पुगेको बताउँछन् । “मेरो प्यासनले एकदिन त आफूलाई खान लाउन पुग्ने कमाउन सहयोग गर्ला नि ! म सपनाबाट बिपनामा बाचेको मान्छे हुँ,” उनी भन्छन् ।
यस्तै, फोब्र्सको प्रभावशाली युवाको सूचीमा परेकी अर्की नेपाली गौरिका सिंहले ९ वर्षदेखि पौडी खेल्दै आएको र १२ वर्षको उमेरदेखि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै आएको फोब्र्सले उल्लेख गरेको छ । सन् २०१९ को दक्षिण एसियाली खेलकुदमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेकी थिइन् । यस्तै, सन् २०१६ मा भएको रियो ओलम्पिकमा गौरिका सबैभन्दा कान्छी खेलाडीको रुपमा सहभागी भएकी थिइन् । खेलकुदका साथै सामाजिक कार्यमा संलग्न गौरिका माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभ्सकी सद्भावना दूत पनि हुन् ।
फोब्र्सले हरेक वर्ष विभिन्न १० विधामा प्रभावशाली ३०–३० युवाहरु समावेश गरेर सूची प्रकाशित गर्ने गर्दछ । जसमा प्रत्येक वर्ष नै नेपाली युवाहरु पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्