Logo

उच्च शिक्षाका लागि पोखराबाट वार्षिक दुई हजार जापानमा

पोखराबाट वार्षिक रुपमा करिब २ हजार जना उच्च शिक्षा अध्ययनको लागि जापान जाने गरेको पाइएको छ ।
जापान भाषा संघ नेपाल (लान) का संस्थापक अध्यक्ष युवराज खनालका अनुसार वार्षिक रुपमा पोेखरा सहित नेपालबाट करिब ८ हजार जना कानुनी रुपमा मान्यता प्राप्त संस्थाबाट उच्च शिक्षा हासिल गर्न जापान जाने गरेका छन् ।
नेपालबाट उच्च शिक्षा हासिल गर्न जापान जानेको करिब २५ प्रतिशत संख्या पोखरा क्षेत्रकै भएको संस्थापक अध्यक्ष खनालले दाबी गरे । उनका अनुसार लानमा आबद्ध पोखरामा ४१ वटा परामर्श तथा जापानी भाषा प्रशिक्षण एवं दातृ संस्थाहरुको छाता संगठनको रुपमा संस्थाहरु रहेका छन् । पोखरा क्षेत्रमा करिब ८१ वटा परामर्श एवं जापानी भाषा प्रशिक्षण गराउने संस्था भए पनि ४० वटा संस्थाहरु भने अधिकांशले नेपाल सरकारको आवश्यक मापदण्ड पूरा गर्न नसकेको संस्थापक अध्यक्ष खनालले बताए ।
शिक्षा तथा विज्ञान प्रबिधि मन्त्रालय र स्थानीय तहमा अनुमति तथा दर्ता विना केही परामर्श एवं जापानी भाषा प्रशिक्षण गराउदै आएको उनले दाबी गरे । उनले भने, “नेपालमा कानुनी मान्यता प्राप्त नगरेको त्यस्ता शैक्षिक संस्थाले गर्दा अन्यलाई ठूलो असर परेको छ । त्यस्ता अवैध रुपमा संचालन भएका शैक्षिक संस्थाहरुको कसले निगरानी गर्ने हो, उनीहरुलाई जथाभावी रुपमा विद्यार्थीहरुलाई जापान पठाउने गर्दा समस्या उत्पन्न भएको छ ।” कोरोनाको कारण विगत एक वर्षभन्दा लामो समयदेखि पोखराबाट समेत उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरुलाई पठाउन नपाइएको संस्थापक अध्यक्ष खनालले बताए ।
यसैबीच, लानले यही वैशाख ९ गते बिहीबार पोखरामा जापानी भाषा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्र्ने भएको छ । पोखराको होटल ग्राण्डमा हुने प्रतियोगितामा १९ जना प्रतियोगिहरु सहभागि हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
कोरोनाले गर्दा लामो समयदेखि जापानी भाषा अध्ययनमा प्रभाव परेकोले त्यसलाई प्रबद्र्धन गर्न विद्यार्थीहरुलाई प्रोत्साहन हुने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको लानका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए । प्रतियोगितामा विजेता हुनेलाई ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुनेलाई नगद १० हजारको साथमा गिफ्ट ह्याम्पर प्रदान गरिने भएको कार्यक्रम संयोजक विक्रम उदासले बताए ।

प्रतिक्रिया दिनुहोस्