थन्किए ‘भिजिट नेपाल’ लक्षित चार करोडका उत्पादन

भिजिट नेपाल २०२० लाई लक्षित गरेर उत्पादन गरेका चार करोड रुपैयाँ बराबरका उपहारका सामान गोदाममा थन्किएका छन् ।
कोरोना महामारीका कारण भिजिट नेपाल कार्यक्रम नै रद्द भएपछि भिजिट नेपाल २०२० लाई लक्षित उत्पादन बिक्री नभएर गोदाममै थन्किएका हुन । यसरी गोदाममा थन्किएका उत्पादनहरुमा भिजिट नेपालको लोगो, नारा लेखिएका विभिन्न उद्योगले उत्पादन गरेका खादा, ब्याग, टिसर्ट, सर्ट, वालेट, क्यालेन्डर, डायरी लगायत छन् । भिजिट नेपालमा नेपाल आउने पर्यटकहरुलाई उपहारको रुपमा दिनका लागि तयार गरिरहेका उद्योगहरुबाट उत्पादित ४ करोड ३० लाख रुपैयाँ बराबरको सामान प्रयोगविहीन अवस्थामा पुगेको व्यवसायीहरुले जानकारी दिएका छन् ।
बूढानीलकण्ठमा रहेको रे मेडिक्स नेपाल प्रालिका सञ्चालक श्याम गिरीले भिजिट नेपाललाई लक्षित गरेर उत्पादन गरेका १ करोड ८० लाख रुपैयाँ बराबरको सामान बिक्री नभएर खेर गएको बताए । “सुरुमा सामानको धेरै माग आएकाले उत्पादन ग¥यौं,” उनले भने, “कोरोनाले गर्दा कार्यक्रम नै बन्द भएपछि सामान बिक्री नभई कारखानामा थन्किएका छन् ।” भिजिट नेपालको लोगो भएको डेढ करोड रुपैयाँबराबरको एक लाख पिस ढाकाको खादा पनि प्रयोगविहनि भएको उनले जानकारी दिए ।
यस्तै बूढानीलकण्ठमै रहेको फरेन्टी हेम्जा उद्योगले उत्पादन गरेको डेढ करोड रुपैयाँ बराबरको सामान बिक्री नभई कारखानामा थन्किएको छ । सो उद्योगबाट उत्पादन भएका ढाकाको खादा, ब्याग र अल्लाको उपहारका सामान बिक्री नभई थन्किएका हुन् । उद्योगका सञ्चालक गणेश यडीले भिजिट नेपाल २०२० कार्यक्रम बन्द भएपछि डेढ करोड रुपैयाँबराबरको सामान खेर गएको बताए । “भिजिट नेपाललाई लक्षित गरेर सामान उत्पादन गरेका थियौं । कार्यक्रम नै बन्द भएपछि सामान बिक्री नभएर उद्योग नै घाटामा गई बन्द हुने अवस्थामा पुगेको छ ।” २४ सय केजी सामान बिक्री नभई होल्ड भएको उनले जानकारी दिए ।
यस्तै भक्तपुरमा रहेको लक्ष्मी हाते कागज उद्योगले भिजिट नेपाललाई लक्षित गरेर उत्पादन गरेका एक करोड रुपैयाँ बराबरको सामान बिक्री हुन सकेन । नेपाली कागजबाट बनाइएका डायरी, क्यालेन्डर लगायतका सामान प्रयोग नभई खेर गएका छन् । उद्योगका सञ्चालक नरेन्द्र साउदले भिजिट नेपाललाई लक्षित गरी तयार गरिएका सामान बिक्री नभएपछि पेलेर पुनः प्रयोग गर्न लागिएको जानकारी दिए । एक करोड रुपैयाँ बराबरको सामान पेलेर प्रयोग गर्दा २५ प्रतिशत मात्र आम्दानी हुने हुँदा ७५ प्रतिशत घाटा भएको उनले बताए ।
कोभिडका कारणले धेरै उद्योग व्यवसाय पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् । लकडाउनले लामो समयसम्म बन्द साना, लघु तथा घरेलु उद्योग सञ्चालन हुन नसकेर बन्द हुने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको अध्ययनले कोभिडले सबैभन्दा धेरै साना तथा मझौला उद्योग प्रभावित भएको देखाएको थियो । ती उद्योगमा काम गर्ने ५० प्रतिशतले रोजगारी गुमाएको अध्ययनले देखाएको छ ।