ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा :अष्टलक्ष्मी शाक्य «

ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा :अष्टलक्ष्मी शाक्य

नेकपा (एमाले) माधवकुमार नेपाल समूहकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सत्ता लिप्साका कारण गणतन्त्र समाप्त हुने स्थितिमा पुगेको टिप्पणी गरिन् ।

नेकपा (एमाले) नेपाल समूहको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको शपथ ग्रहण समारोहमा बोल्दै नेतृ शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सत्ता लिप्साका कारण ठूलो संघर्षपछि स्थापित गणतन्त्र सपाप्त हुने स्थितिमा पुगेको बताइन् । अध्यक्ष ओलीले गणतन्त्र ल्याउनका लागि योगदान गरेका योद्धाहरूलाई कारबाही गरेर आफू सत्ता र कुर्सी जोगाउने खेलमा लागेको आरोपसमेत लागइन् । अध्यक्ष ओलीका कारण अहिले पार्टी मात्रै नभई मुलुक नै अप्ठेरो स्थितिमा परेको पनि नेतृ शाक्यले बताइन् । उनले भनिन्, ‘कम्युनिष्ट पार्टी मात्रै होइन, मुलुक अप्ठेरोमा परेको छ । सङ्कटमा परेको छ । गणतन्त्र, लोकतन्त्र कमजोर बनाउने उहाँकै कारणले भइराखेको छ र देशको आर्थिक रूपान्तरण, सामाजिक रुपान्तरणको दिशातिर जसरी अगाडि बढ्नु पर्ने हो उहाँकै कारणले भइराखेको छैन । सत्ता लिप्सा, सत्ता लिप्सा, कुर्सी लिप्सा मात्रै, अनि गणतन्त्र ल्याउनका लागि बलिदान गर्ने योद्धाहरू, अनि एक जना व्यक्ति सत्ता लिप्सा भएर कुर्सी लिप्सा गरेर गणतन्त्रलाई नै समाप्त गर्ने खालको दुस्साहस गर्ने यो सुहाउने कुरा होइन ।’

अध्यक्ष ओलीमा आफू ठूलो पदमा पुगें भन्ने दम्भ रहेको पनि नेतृ शाक्यले बताइन् । त्यही दम्भका कारण अहिले देश अप्ठेरोमा परेको पनि बताइन् । उनले भनिन्, ‘मलाई लाग्छ उहाँ सच्चिनुहोला जस्तो लाग्दैन । उहाँमा दम्भ छ, घमण्ड छ, उहाँलाई ठूलो पदमा पुगें अब जिन्दगिमा कहिल्यै पुग्ने छैन त्यसैले अब मैले कोसँग माफी माग्ने, कोसँग मैले आफ्नो कमजोर स्थिति बनाउनुपर्छ? पर्दैन, म ठूलो ठाउँमा पुगेँ प्रधानमन्त्री जस्तो ठूलो ठाउँमा, पार्टी अध्यक्ष जस्तो ठूलो ठाउँमा पुँगे भनेर उहाँमा जे दम्भ छ त्यो दम्भले आज मुलुक अप्ठेरोमा परेको छ ।’

नेतृ शाक्यले आफूहरू नेकपा एमाले कमजोर भएको हेर्न नचाहेको पनि स्पष्ट पारिन् । तर, अहिले अध्यक्ष ओलीले पार्टीलाई विचारविहीन, विधि मिचिएको र विधि समाप्त पार्टीको रूपमा खडा गर्न खोजेको आरोप पनि लगाइन् । उनले भनिन्, ‘नेकपा एमालेलाई हामी कमजोर भएको हेर्न चाहँदैनौं । शक्तिहीन भएको हेर्न चाहँदैनौं, ध्वजा ध्वजा भएको हेर्न चाहँदैनौं, विचार शुन्य भएको हेर्न चाहँदैनौं, विधि मिचिएको र विधि समाप्त भएको हेर्न चाहँदैनौं । यो कम्युनिष्ट पार्टी हो । कमरेड पुष्पलालले जन्माएको कम्युनिष्ट पार्टी हो । त्यसो भएको हुनाले हामीले नेकपा एमाले सबै हिसाबले बलियो बनाएर यो मुलुकको नेतृत्व गर्ने वामपन्थीहरूलाई नेतृत्व गर्ने, कम्युनिष्ट आन्दोलनलाई नेतृत्व गर्ने अनी यो मुलुकमा आर्थिक सामाजिक रूपान्तरण गरेर समाजवादको लक्ष्य प्राप्त गर्ने दिशाका साथ हामी अगाडि बढिराखेका छौं ।’

कार्यक्रममा नेता सुरेन्द्र पाण्डेले अहिले आई लभ यु केपी बा भन्नेहरू यस अघि हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्नेहरू जस्तै हराएर जाने बताए । अवसर खोज्दै हिँडनेहरू अहिले केपी ओलीको पछि लागेको र केही समयपछि उनीहरूले छाडेर जाने निश्चित भएको पनि बताए । त्यस्तो अवस्था एक वर्ष भित्रमै आउने पनि बताए । उनले भने, ‘आई लभ यु केपी बा, बडो मज्जा लाग्छ । त्यो सुन्दैमा मज्जा लाग्छ । त्यस्तो सुन्नमा मज्जा लाग्ने राजर्षी शैली होइन ? हिजो राजालाई राजाका मन्छे के भन्थे, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउँदैन थिए ? तर अहिले तपाईंले कतै देख्नु भएको छ हाम्रो राजा हाम्रो देश भनेर प्राणभन्दा प्यारो छ भनेर कहीँ सडकमा प्राण दिन तयार हुने राजका लागि छन र कोही? छैनन् । यी आई लभ केपी बा भन्ने पनि यो अवस्थाबाट बाहिरिने बित्तिकै ओली जी बाहिरिने बित्तिकै ति सबै पहिल्यै टाप कस्छन् । किनभने हामीले धेरै यस्ता मान्छे देख्दै पनि आएका छौं । हिजो हामी जतिखेर अप्ठेरो बेलामा पार्टी बनाउँदै थियौं कोही मान्छे मेरो, तेरो मान्छे हुँ भनेर आउँदैन थियौं । त्यसबेला साथ दिने को हुन्थे, पार्टीका साथीहरू हुन्थे, जनता हुन्थे, जहाँ हामी बस्थ्यौं, जहाँ हामी पार्टी निर्माण गरेर जहाँ सेल्टर निर्माण ग¥यौं ती मान्छेले हामीलाई साथ दिए र अहिले पनि दिने तिनै हुन् । जो अवसरका लागि आएका मान्छेहरू हुन पहिले तिनिहरू जहाँ अवसर छ त्यतातिर हात फालेर जान्छन्, पछि त्यसलाई छोडेर जान्छन् । ओलीजीलाई पनि मैले के देख्नु भने ओलीजीको अब बढी से बढी एक वर्ष भन्ने गरेको छु । एक वर्षपछि ति सबै जो म प्रेम गर्छु ओलीसँग भन्ने छन टाटा बाईबाई ओली जी भनेर हिँडने छन् ।’ नेता पाण्डेले पार्टीलाई बलियो बनाउने दृढ सङ्कल्पका साथ काम गर्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिनुभयो । उहाँले पार्टीलाई बिलयो बनाउँदै वामपन्थीबीच, कम्युनिष्टहरूबीच एकता गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्