Logo

उद्योगी साखः को निधन

व्यावसायिक घराना साखः ग्रुपका अध्यक्ष तथा उद्योगी गणेशभक्त साखः को निधन भएको छ । भक्तपुर उद्योग वाणिज्य संघ स्थापना गरेर त्यस क्षेत्रको उद्योग–व्यापार बढाउन महत्वपूर्ण भूमिका खेलेका साखः को ९१ वर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती र चार छोरा छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले समग्र उद्योग–व्यवसायमा साखःको भूमिका महत्वपूर्ण रहेको बताए । विशेषगरी भक्तपुरको उद्योग व्यापारमा उनको योगदान अविस्मणीय भएको भन्दै बुढेसकालसम्म पनि उद्योगमै संलग्न रहेको जानकारी दिए । उनी भक्तपुरमा नेपाल पेन्ट्स र साखः मेटल एण्ड एलाइड इन्डस्ट्रिजसँग आवद्ध थिए । भक्तपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका साखः सामाजिक क्षेत्रमा पनि अगाडि आउने नाम हो । २०७४ सालमा नेपाल चेम्बर अफ कमर्सले लाइफ टाइम एचिभमेन्ट अवार्डबाट साखः लाई सम्मान गरेको थियो । व्यापार व्यवसायमा साखःको सक्रियता उनका बाबु रामभक्त साखःबाट भएको थियो । पारिवारिक वातारण नै व्यापारिक भएकोले पनि उनलाई उद्योग व्यवसायमा लाग्न थप सहज भएको थियो । बाबु रामभक्तले जापानबाट कपडा र सिंगापुरबाट ल्वाङ, सुकमेल, मरिच लगायतका सामान आयात गर्ने गरेका थिए । बुवाको यही व्यवसायले उनलाई उद्योगी बनाएको थियो ।
उनी भ्याट कार्यान्वयन अघि बनाएको अध्ययन टोलीको सदस्यसमेत थिए । रुप खड्काको अध्यक्षतामा बनेको कार्यदलमा उनी नेपाल उद्योग वाणिज्य महासंघको सदस्यको हैसियतमा अध्ययन टोलीमा सहभागी समेत थिए । राजनीतितर्फ पनि केही सक्रिय उनी नेपाली कांग्रेस भक्तपुर जिल्लाका पूर्व कोषाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्