पहिलो चौमासिक सकिएपछि नगरसभा

सल्यान-चालू आर्थिक वर्षको पहिलो चौमासिक सकिएपछि सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले तेस्रो नगरसभा गरेको छ । असार २५ गते सम्पन्न हुनुपर्ने नगरसभा नगर प्रमुख गोविन्दकुमार पुन, उपप्रमुख मन्जु यरी र वडा अध्यक्षहरूबीच बजेट वाँडफाँड र केही नीति निर्माणका विषयमा विवाद हुँदा ६ महिनापछि मंगलबार सम्पन्न भएको हो ।
नगरसभाले साढे ४७ करोड रकम विनियोजन गरेको छ । नगरसभाले २०७५/७६ का लागि कुल ४७ करोड ६७ लाख ४ हजार बजेट विनियोजन गरेको नगरप्रमुख गोविन्दकुमार पुनले जानकारी दिए । उनका अनुसार चालूतर्फ २९ करोड ९८ लाख ९२ हजार ५ सय ६२ र पुँजीगततर्फ १७ करोड ६८ लाख ११ हजार ५ सय ३७ बजेट विनियोजन गरिएको छ । नगरसभाले स्वास्थ्य, खानेपानी, पर्यटन, सिँचाइलाई प्राथमिकतामा राखेको छ ।
चालूतर्फ स्वास्थ्यमा १ करोड २६ लाख, खानेपानीमा १ करोड ५५ लाख ८३ हजार ७ सय ७४, कृषि पशुमा ८० लाख, उद्योग तथा वाणिज्यमा ७० लाख, पर्यटनमा ५० लाख, सहकारीमा १० लाख, सामाजिक विकासतर्फ शिक्षामा २ करोड २० लाख ३५ हजार, धर्म संस्कृति प्रवद्र्धनमा १३ लाख १० हजार रकम विनियोजन गरिएको उपप्रमुख मञ्जु यरीले बताइन् ।
त्यस्तै खेलकुद तथा मनोरञ्जन १० लाख, लैंगिक समानता तथा समाजिक समावेशीकरणमा ७० लाख, स्थानीय सडक पुल तथा झोलुङ्गे पुलमा ७ करोड ७२ लाख २ हजार ७ सय २६, सिँचाइमा ३३ लाख ५० हजार, भवन तथा विकास निर्माणमा ८२ लाख ५५ हजार, उर्जा तथा वैकल्पिक उर्जामा १ करोड ४ लाख, वन तथा भू–संरक्षण १० लाख, जलाधार संरक्षणमा १५ लाख, वातावरण संरक्षण तथा जलवायु परिवर्तनमा २० लाख, फोहोर मैला तथा ढल व्यवस्थापनमा ५ लाख, विपद व्यवस्थापनमा ६० लाख, सामान्य सेवामा २ करोड ९१ लाख ३२ हजार ५ सय बजेट विनियोजन गरिएको छ ।
निर्धारित समय भन्दा ६ महिना ढिला बसेके नगरसभाले विनियोजन गरेको रकम कार्यान्वयनमा केही चुनौती रहे पनि सबै एकताबद्ध भएर लागू गर्नुपर्ने नगरप्रमुख पुनको भनाई छ । यसबाट प्रत्यक्ष नागरिक लाभान्वित हुने खालका कार्यक्रम समेटिएको छ ।
मेघा रेउले