Logo

कारोबार मेरो पालिका

नगरवासीको आयस्तर उकास्ने योजनामा जोड दिएका छौं

नगरपालिका भए पनि धेरैजसो मानिसहरू कृषि तथा पशुपालन पेसामा नै आबद्ध हुनुहुन्छ । नगरपालिकाभित्र तीन–चार ठाउँमा साना–साना बजारबाहेक सबै ग्रामीण क्षेत्र नै छ । उद्योग, कलकारखानाहरू पनि छैनन् । त्यसैले हाम्रो नगरपालिकाले नगरवासीको जीवनस्तर माथि उठाउनका लागि पशुपालन, साना तथा लघु उद्यमीहरू निर्माणमा विशेष जोड दिएको छ ।
भैंसीपालन पकेट क्षेत्र, बाख्रापालन पकेट क्षेत्र घोषणा गरेका छौँ । जसअन्तर्गत चालू आर्थिक वर्षमा एक करोडका उन्नत जातका भैंसी र ५० लाखका उन्नत जातका बाख्रा कृषकलाई लागत साझेदारीमा दिने कार्यक्रम रहेको छ, जसमा प्रदेश सरकारको पनि साझेदारी रहेको छ । यस्तै कृषि क्षेत्रमा पनि हामीले विभिन्न कार्यक्रमहरूसँग समन्वय गरेर योजनाहरू सञ्चालन गरेका छौँ ।
नगरपालिकाभित्र साना कृषिसँगै आश्रित पाउरोटी, चाउमिन बनाउने उद्योगहरूबाहेक अरू उद्योगहरू छैनन् । त्यसैले हाम्रो नगरवासीको आय आर्जन वृद्धि गरी आर्थिक स्तर उकास्नका लागि कृषिमा प्राथमिकता दिनुपर्ने अवस्था छ । नगरपालिकाको भौगोलिक अवस्था र हावापानीले पनि पशुपालन यहाँको राम्रो सम्भावना भएको क्षेत्र हो । त्यसैले आय–आर्जन वृद्धि गर्नका लागि पशुपालन तथा कृषिमा उन्नत जात भिœयाउने, कृषकहरूलाई अनुदान र साझेदारीका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।
पशुमा पनि दुग्ध उत्पादनका लागि व्यावसायिक गाईभैंसी पालन, उन्नत जातका बाख्रापालन, बंगुर, कुखुरापालन र तरकारी तथा खाद्यान्न उत्पादनलाई वृद्धि गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । कतिपयमा शतप्रतिशत अनुदान त कतिपयमा २०–३० प्रतिशत साझेदारीमा पशु कृषिका कार्यक्रमहरू सञ्चालन गरेका छौँ ।
साविकका गाविसहरू मिसाएर नगरपालिका बनायो, तर पूर्वाधारका हिसाबले अझै नगरपालिका बन्न सकेको छैन । हामीकहाँ अझै पनि दुई–अढाई सय मिटर सडक मात्रै पिच छ । हामीसँग क्याम्पस, अस्पताल पनि छैन । अबचाहिँ १५ शय्याको अस्पताल बनाउने कुरा सुरु भएको छ । त्यसैले भौतिक पूर्वाधारका विकासले नगरपालिका बनाउन हामीलाई धेरै बजेटको आवश्यकता छ । त्यसैले हाम्रो एक्लैको बजेटले पाँच वर्षमा पूर्वाधार विकासमा प्रगति गर्न सकिने अवस्था छैन ।
प्रदेश र संघ सरकारसँग समन्वय गरी पूर्वाधार विकास गर्ने कुरालाई पहिलो प्राथमिकता दिएका छौँ । पूर्वाधारमा पनि सडक पहिलो आवश्यकता रहेछ । सामान्य पूर्वाधार विकास नभएकाले धेरै बजेट पूर्वाधारमा लगाउनैपर्ने बाध्यता छ । सडक राम्रो नभएकाले आर्थिक उपार्जनका अन्य कुराहरूमा पनि असर परेको छ । नगरपालिकाभित्र भए पनि सबै ठाउँमा सडक बिजुली, खानेपानी सुविधा सहज नभएकाले त्यसमा पनि प्राथमिकता दिएका छौँ ।
नगरको एकीकृत विकासका लागि सहरी विकासले एउटा गुरुयोजना बनाइदिइएको छ । हामीले पनि नगर सडक गुरुयोजना बनाएका छौँ । योजनाको प्राथमिकीकरण पनि तय गरिएको छ, तर गुरुयोजनाअनुसार विकास गर्नका लागि धेरै बजेट आवश्यक पर्ने देखिन्छ । विकास नभएको नगरपालिका भएकाले सामान्य विकासबाट सुरुवात गर्नुपर्ने अवस्था भएकाले आवधिक योजना र गुरुयोजनाअनुसार मात्रै बजेट छुट्ट्याउने हो भने नगरपालिकाका धेरै कुराहरू छुट्छन् । त्यसैले बजेट अभावका कारणले नै त्यसअनुसार विकास गर्न सकिएको छैन ।
नगरपालिकाको मुख्य आन्तरिक स्रोत भनेको ढुंगा–गिट्टी, बालुवा नै हो । त्यसबाहेकका स्रोत लगभग छैनन् भन्दा पनि हुन्छ । त्यसैले प्रदेश र संघीय सरकारले पठाउने रकममै बढी भर पर्नुपर्ने अवस्था छ । बजेट अभावमा धेरै गर्न सकेका छैनौँ, तर जति गर्न सकेका छौँ विधिवत रूपमा गरेका छौँ । योजना छनोट गर्दा सात चरणको पूर्ण पालना गरिएको छ । अनुगमनपछि मात्रै योजनाको भुक्तानी गर्ने गरेका छौँ ।
लेकबेसी नगरपालिकालाई नमुना नगरपालिका बनाउने हाम्रो लक्ष्य हो । नयाँ बनेको नगरपालिका भएकाले पाँच वर्षमा विकासको मार्गचित्र मात्रै कोर्न सम्भव छ । हाम्रो आन्तरिक आम्दानी धेरै छैन, बजेटमा केन्द्र र प्रदेशकै भर पर्नुपर्ने अवस्था छ । अहिले आउने बजेटले सोचेअनुरूप विकास गर्न कठिन छ । तर, हामीले थितिविधिअनुरूप काम गरेका छौँ । गाविसहरू मिलेर बनेको नगरपालिकालाई पहिलो प्रयास नगरपालिकाका मापदण्ड पूरा गरेको नगरपालिका बनाउनका लागि जग बसाल्ने काम भएको छ ।

कृष्णप्रसाद खरेल
प्रमुख प्रशासकीय अधिकृत
लेकबेसी नगरपालिका, सुर्खेत

प्रतिक्रिया दिनुहोस्