गाउँका पसलैपिच्छे ढिके नुन

ताप्लेजुङ-“साहुजी ढिके नुनको त गोदाममै छ त,” पत्रकार आनन्द गौतमले दोभान बजारका एक पसलेलाई भने, “ढिके नुन र आयो नुन कुन बढी बिक्री हुन्छ ? यसरी अव्यस्थित राखिएको नुनको बोरा हराउँदैन ?” ग्राहकलाई चौपाया बाँध्ने दाम्लो बेच्दै गरेका पसल सञ्चालक दिपक धितालले भने, “दुवै नुन बरावर बिक्री हुन्छ । सायद आयो नुनभन्दा कम मूल्य परेर होला !” दोभानकै व्यवसायी गुरु पौडेलले बार्षिक चार ट्रकभन्दा बढी ढिके नुन बिक्री गर्छन् । पौडेलले भने, “पहिले भन्दा अहिले अलिक कम बिक्री हुन्छ । सायद गाउँघरमै पसल खुलेर होला ।” प्रतिबोरा (५० केजी) को ७ सय पचास रूपैयाँ पर्छ ।
ताप्लेजुङ जिल्लाकै दोस्रो ठूलो बजार हो दोभान । नुनदेखि सुनसम्म कारोबार हुन्छ । अझ तमोर नदीमाथि मोटरेवल पुल बनेकाले मेची–कोसी राजमार्ग जोडिएसँगै आवतजावत बाक्लिएको छ । दैनिक उपभोग्य सामग्रीको किनबेच हुने यहाँका प्रत्येकजसो पसलमा ढिके नुनको गोदाम छ । घरका पेटीदेखि गोदाममा ढिके नुन थन्क्याएका छन् । दोभान बजारमा मात्र होइन, मैवाखोला गाउँपालिका केन्द्र साँघुमा लाग्ने औंसी–पूर्णे हटियामा मानाका हिसाबले ढिके नुन किनबेच हुन्छ । धरान–धनकुटा–तेह्रथुमको बसन्तपुरहुँदै साँघुसम्म गुड्ने मालवहाक सवारी साधनबाट ढिके नुन प्रशस्त आयात गर्छन् ।
मैवाखोला गाउँपालिका अध्यक्ष राजन थत्लुङ लिम्बूका अनुसार गाउँघरमा मान्छे र चौपायालाई खुवाउन ढिके नुनकै प्रयोग बढी हुन्छ । “हुनत आयो नुनको प्रयोग बढ्दो छ । तर अपेक्षाकृत बढेको छ्रैन,” अध्यक्ष लिम्बूले भने । जिल्लाकै खाम्दिमे बजारमा पनि ढिके र आयो नुनको प्रयोग समान छ । व्यवसायी डिल्ली थेबेका अनुसार ढुवानीका साधन खच्चडमा हप्तामा डेढ दुई सय बोरा नुन उठ्छ । शिक्षित परिवार र होटलमा मात्र आयो नुन प्रयोग गर्ने गरेको पाइएको छ ।
जिल्लामा वार्षिक ढिके नुनको आयात तथ्यांक उपलब्ध छैन । यद्यपी सदरमुकाममा भने यसको प्रयोग न्यून छ ।
चेतना अभावले ढिके नुनको प्रयोग हटेको छैन । अझ जिल्लाको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा तिब्बतको नुन प्रयोग गरिन्छ । नेपालमा उत्पादित नुन ढुवानी महँगो पर्ने भएकाले उतैबाट ल्याउने गरिएको वडाअध्यक्ष छेतेन वालुङले बताए । फक्ताङलुङ, सिरिजंघा र सिदिङमा गाउँपालिकास्थित गोठ व्यवसाय गर्नेले तिब्बतबाट ल्याएको नुन प्रयोग गर्ने गरेका छन् । स्थानीय सरकारले ढिके नुनको असर र आयो नुनको प्रयोगको फाइदाबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औंल्याएका छन् ।
देवराज गुरुङ