कम्युनिष्टको ‘डिक्सनरी’मा नैतिकता छैन – नेता सिंह «

कम्युनिष्टको ‘डिक्सनरी’मा नैतिकता छैन – नेता सिंह

झापा-नेपाली कांग्रेस का नेता प्रकाशमान सिंहले केपी ओली सत्ताको निरन्तरता देशका लागि दुर्भाग्य हुने बताएका छन् । प्रेस युनियन झापाले बिहीबार बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले उक्त धारणा राखेका हुन् ।
“जनताको म्यान्डेट पाएर पनि कम्युनिष्ट पार्टीको सरकार सफल हुन नसक्नु दुर्भाग्यपूर्ण छ”, पत्रकार सम्मेलनमा नेता सिंहले भने, “केपी ओलीलाई सत्तामा रहिरहन दिनु भनेको देशको वर्वादी मात्रै हो ।” नेता सिंहले प्रधानमन्त्री ओली संघीयतालाई स्वीकार गर्न अझै तयार नभएको आरोप लगाए । “ओलीको केन्द्रिकृत मानसिकता आज पनि हटेको छैन” उनले भने, “राज्यका निकायहरुलाई अझै पनि आफु मातहत राखेर ओलीले संघीयताविपरीत अभ्यास गरिरहेका छन् ।”
नेता सिंहले कम्युनिष्टको ‘डिक्सनरी’मा नैतिकताको न पनि नभएको टिप्पणी गरे । फेरि संसद विघटनको बाटोमा जाने खतरा बढेको भन्दै नेता सिंहले विश्वासको मत लिन प्रधानमन्त्री ओलीले आनाकानी गरिरहेको बताए । “सिट संख्याका आधारमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने अवस्था काङ्ग्रेससँग छैन” उनले भने । नेता सिंहले काँग्रेसलाई चरित्र अनुसारको पार्टी बनाउन नेतृत्व जुट्नुको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्