प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र संघीय संसदका सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ । गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएसँगै राज्यका महत्वपूर्ण दुई अंग व्यवस्थापिका र कार्यपालिकाबीचको संवादहीनता तोडिएको छ । प्रतिनिधिसभा विघटन भएसँगै प्रधनमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकसमेत एकलौटी ढंगले सञ्चालन गरेपछि व्यवस्थापिका र कार्यपालिकाबीच टकराव देखिएको थियो ।
प्रतिनिधिसभा विघटनपछि संवैधानिक परिषद्को बैठक र संवैधानिक आयोगमा सिफारिस एकलौटी गरेपछि सभामुख सापकोटा अदालत गएका थिए । सर्वोच्च अदालतको आदेशबाट प्रतिनिधिसभा पुनःस्थापित भएपछि सरकारले फागुन २३ मा प्रतिनिधिसभा बैठक बोलाइएको थियो । सोही बैठकमा सरकारले प्रतिनिधिसभा विघटनको अवधिमा जारी गरेका अध्यादेश संसद्मा लगेको थियो ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले संविधानको मर्ममाथि प्रहार गरेको भन्दै त्यो विधेयक पेस हुने भएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बैठक बहिस्कार गरेका थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध पारेको थियो ।
संसद्को पहिलो बैठकमा अध्यादेश पेस गर्ने संवैधानिक व्यवस्था रहे पनि संसद् अवरुद्ध भएपछि सरकारले अध्यादेश पेस गर्न पाएको थिएन । संसद् बैठक सुरु भएको दिन संसद् भवनमा पुगेर पनि बैठकमा नगएका प्रधानमन्त्री ओलीले अध्यादेश पेस गर्न नदिएको भन्दै सार्वजनिक रुपमा असन्तुष्टि पोख्दै आएका थिए । त्यसयता सरकारले संसद्लाई एउटा पनि विधेयक दिएको छैन ।
विधेयक अधिवेशन भनेर चिनिने हिउँदे अधिवेशनमा सरकारले संसद्लाई विधेयक नदिँदा संसद् बिजनेसविहीन बनेको छ । त्यही कारण सभामुखले संसद्मा विशेष, समय, शून्य समय चलाएर संसद् सञ्चालन गरिरहेका छन् । तर, व्यवस्थापिका र कार्यापालिका प्रमुखहरुबीच यसबीचमा संवाद भने हुन सकेको थिएन ।
सभामुख सापकोटा आइतबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् । सभामुख सापकोटाले जनप्रतिनिधिको सर्वोच्च संस्था संसद्लाई प्रभावकारी बनाउन सरकारको सहयोग अनिवार्य भएको भन्दै सबै तिक्तता त्यागेर जनअधिकारका पक्षमा लाग्न प्रधानमन्त्रीलाई प्रस्ताव गरेका हुन् ।