प्रतिनिधिसभा बैठकमा शोक प्रस्ताव पारित गरेर स्थगित

प्रतिनिधिसभाको मंगलबारको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उनी २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो ।
त्यसैगरी बैठकले सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ । सभामुखको अनुपस्थितिमा डा. डिला संग्रौैला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्नेछ ।