सर्वदलीय बैठकमा राष्ट्रपतिको बंगलादेश भ्रमणबारे जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक आयोजना गरेर यही चैत ९ र १० गते आफूले बंगलादेशको राजकीय भ्रमण गर्न लागेको जानकारी दिएकी छन् । बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले भ्रमणबारे जानकारी दिन बोलाएको भएपनि केही समसामयिक राजनीतिक विषयमा पनि नेताहरुले धारणा राखेको बताए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेश लिन चुनावमा जानुपर्ने बताएको र नेकपा माओवादी केन्द्रका अध्यक्षले समसामयिक राजनीतिक विषयमा कुरा गरेको नेता केसीले जानकारी दिए । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी चैत ९ गते त्यसतर्फ जान लागेकी हुन् ।