कम्युनिष्टसँग सिद्धान्तका आधारमा लड्ने हो : वरिष्ठ नेता पौडेल «

कम्युनिष्टसँग सिद्धान्तका आधारमा लड्ने हो : वरिष्ठ नेता पौडेल

म्याग्दी- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस कम्युनिष्टसँग लड्ने आधार सिद्धान्तमा मात्र रहेको बताएका छन् ।
कांग्रेसले जनतामाझ नीति, सिद्धान्त र रणनीतिलाई ठिक रुपमा व्यहारमा देखाएरमात्र सफल हुने उनले बताए । कम्युनिष्ट सरकार असफल भयो भन्दैमा जनताले कांग्रेसलाई भोट नदिने बताउँदै उनले आगामी दिनहरुमा जनतामाझ लोकतन्त्र, समाजवाद र राष्ट्रियता जोगाउने प्रष्ट ऐजण्डा लिएमात्र अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।
नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति भुपेन्द्रबहादुर खड्काको श्रद्धान्जली सभामा नेता पौडेलले कांग्रेस नयाँ सकारको लागि तयार हुनुपर्ने बताए । यसका लागि तत्काल माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बनाउन पहल कांग्रेस नेतृत्वले गर्नुपर्ने जिकिर गर्दै नयाँ सरकारको नेतृत्व लिने अवसर गुमाउनु गलत हुने बताए । उनले लोकतन्त्रमाथि प्रहार गर्दै संविधान विघटन गर्ने प्रधानमन्त्री ओलीको सरकार टिकाउन कांग्रेस नलाग्ने स्पष्ट पारे ।
सर्वोच्च अदालतको फैसलापछि देशमा नयाँ परिस्थिति आएकाले विकृत राजनीतिको अन्त्यका लागि पनि प्रधानमन्त्री ओलीको बहिर्गमन गर्न छिटो अविश्वास प्रस्तावमा नेकपा केन्द्र र राजपासँग समन्वय गरेर अघि बढ्ने वातावरण कांग्रेसले बनाउनुपर्ने नेता पौडेलको भनाइ थियो । प्रधानमन्त्री ओलीलाई हटाउने अवसर एकचोटी सबैले गुमाएको बताउँदै उनले दोस्रो अवसरमा पनि हामी चुक्यौं भने लोकतन्त्रमाथि प्रहार भइराख्ने जिकिर गरे ।
संविधान बचेमात्र चुनावको अर्थ हुने बताउँदै उनले सत्तामा जाने भन्दा व्यवस्था बचाउन कांग्रेसले सधैं गलत कदमको विरोध गर्ने प्रतिवद्धता जनाए । नेता–नेताबीच पदको लडाइँ गर्नुभन्दा सिद्धान्तको लडाइँमा मिलेर अघि बढ्न उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्