Logo

कांग्रेसले लोभ र हतार गर्दैन : सभापति देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीको विरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउनका लागि कम्युनिष्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन् ।
कम्युनिष्टहरु प्रजातन्त्रको खिलाफमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए । उनले भने, ‘प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण कुरा हो अहिले । ओली सरकार कम्युनिष्ट एकदलिय सर्वसत्तावाद लागू गर्न चाहन्छ । झुठा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरुलाई बहकाएर आफू सत्तामा बसिरहने कुरा हो । हाम्रो पार्टीले प्रजातन्त्रलाई स्थायी गराउनु आवश्यक छ । कसैले प्रजातन्त्रमाथि आक्रमण गर्न नसकोस् ।’
कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए । नेपाली कांग्रेसले लोभ र हतार गर्न नहुने भन्दै उनले परिस्थिति आइप¥यो भने जिम्मेवारीबाट नभाग्ने पनि स्पष्ट पारे ।
सभापति देउवाले नेपाली कांग्रेस पार्टी भित्र महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरेको बताए । महिलाहरुलाई पार्टीमा आकर्षित नगराए पार्टीको जित नहुने उनको भनाइ छ । उनले भने, ‘हाम्रो पार्टीले महिला दिदीबहिनीहरुलाई पनि नेपालको संविधान अनुरुप नै ३३ प्रतिशत आरक्षण गरेको छ । महिलाहरुलाई पार्टीमा जबसम्म आकर्षित गर्न सकिँदैन, तबसम्म पार्टीको जित कहिल्यै हुँदैन । महिला शक्ति हो । जिताउन सक्छन् महिलाहरुले, हराउन पनि सक्छन् । महिलालाई जस्तो अधिकार देशले दिएको छ त्यो अधिकार कांग्रेसले पनि दिएको छ । महिला मतदातालाई हाम्रो पार्टीमा बढी आकर्षित गराउनुप¥यो ।’

प्रतिक्रिया दिनुहोस्