Logo

अवरोध र बहिस्कारपछि संसद् बैठक स्थगित


सर्वोच्च अदालतको फैसलापछि पुनस्र्थापित प्रतिनिधिसभाको बैठक पहिलो दिनमै अवरुद्ध बनेको छ । नेकपा दाहाल–नेपाल पक्षको बहिस्कार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसद् चल्न नसकेको हो ।
कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि १० मिनेटका लागि स्थगित भएको बैठक फेरि बस्न सकेन । बैठक सूचना टाँसेर २६ फागुनसम्मका लागि स्थगित भएको छ ।
सरकारले ल्याएका अध्यादेशबारे सदनमा विरोध जनाउँदै नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेका थिए । नाराबाजीकै बीच कानुनमन्त्री लिलानाथ श्रेष्ठले सदनमा अध्यादेश पेश गरेका थिए ।
यसअघि नेकपा दाहाल–नेपाल पक्षले पनि अध्यादेश असंवैधानिक तवरले आएको भन्दै विरोध जनाएर सदन छाडेर हिँडेका थिए ।
बैठकबाट बाहिरिएपछि प्रतिक्रिया दिँदै नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सरकारले असंवैधानिक रुपमा ल्याएको अध्यादेश पारित गर्न खोजेकाले संसद् बैठक बहिस्कार गरेको बताए । दाहालले भने, ‘अलोकतान्त्रिक सरकारले ल्याएको अध्यादेशको विरोधमा बहिष्कार गरेका हौं ।’ उनले आइतबारको सर्वोच्च अदालतको आदेशले यो कसको सरकार हो भन्ने अन्योल उत्पन्न भएको बताए । संसद् बैठक चल्दै गर्दा नेकपा सांसद भीम रावलले बोलेपछि दाहाल–नेपाल समूहले बैठक बहिष्कार गरेको थियो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले केही सांसदहरु बैठक छोडेर हिँडेपछि पनि बैठक सञ्चालन भइरहेको भन्दै आपत्ति जनाएकी थिइन् । उनले भनिन्, ‘हाम्रो संसदीय अभ्यास विपरीत काम भएको छ । केही माननीय सदस्यहरु संसद् बाहिर जानुभएको छ । कोही यहिँ हुनुहुन्छ । किन यस्तो भयो ?’ अध्यादेशबाट मुलुक चलाउन खोजिएको भन्दै उनले आपत्ति जनाइन् ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको प्रतिकूल रहेको बताए । उनले भने, ‘यसलाई कांग्रेसले स्वीकार गर्दैन । पहिले फर्कायो, अहिले त्यही ल्यायो। यो अध्यादेश सदनमा प्रवेश गर्न सक्दैन ।
त्यसअघि नेकपा दाहाल–नेपाल समूहका सांसद भीमबहादुर रावलले सरकार र प्रधानमन्त्रीको अवस्था स्पष्ट नभएको भन्दै प्रतिनिधिसभाको बैठक अगाडि नबढाउन माग गरेका थिए । बैठक सुरु हुनेबित्तिकै बोल्दै उनले भने, ‘सर्वोच्च अदालतबाट आएको फैसलापछि यो कसको सरकार हो भन्ने प्रश्न उठेको छ । यो सरकारको वैधता नै छैन । यो कुरा राजनीतिक नैतिक, संवैधानिक, कानुनी दृष्टिकोणाट स्थापित हुँदैन । प्रतिनिधिसभालाई जसले हत्या गर्यो, उहाँको स्थिति के हो ?’ सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गरेर बैठक अघि बढाउन खोजेपछि सांसद रावलले उठेर विरोध गरेका थिए । अध्यादेशबाट शासन गर्ने, संविधान मिच्ने, प्रतिनिधिसभामाथि प्रहार गर्ने कुरामा गम्भीर आपत्ति रहेको रावलले बताए ।
रावलले बोलेपछि नेकपा दाहाल–नेपाल समूहका सांसदहरु आफ्नो आशनबाट उठेका थिए । त्यसपछि उनीहरु बैठक नै छाडेर हिँडेका थिए । उनीहरु हिँडेपछि सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्