कांग्रेसमा ‘एक व्यक्ति एक पद’को प्रस्ताव

३-३ उपसभापति,महामन्त्री र सहमहामन्त्रीसहित ११ पदाधिकारी
नेपाली कांग्रेसमा ‘एक व्यक्ति एक पद’ राख्न प्रस्ताव गर्दै पार्टीको विधान मस्यौदा तयार गरिएको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको मस्यौदा पेश भएको हो ।
महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले देशभरका पार्टीका नेता, कार्यकर्तासँग छलफल गरी तयार गरेको विधान संशोधन मस्यौदा केन्द्रीय कार्यसमितिमा पेश भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
केन्द्रीय समितिमा पेश भएको मस्यौदामा ‘एक व्यक्ति एक पद’को प्रस्ताव गरिएको छ । दोहोरो जिम्मेवारी कसैलाई पनि नदिने गरी विधानमा प्रस्ताव गरिएको छ । पार्टी वा भ्रातृ संगठनमा दोहोरो रुपमा बस्न नपाइने व्यवस्था गरिएको विधान संशोधन समितिको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी केन्द्रीय सदस्यमा आरक्षित कोटामा निर्वाचित वा मनोनित गरी दुवैबाट लगातार दुई पटकभन्दा बढी बस्न नपाइने विधानमा उल्लेख छ ।
त्यस्तै, केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तय गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिने, उम्मेदवार प्रस्ताव गर्दा ३ जनाभन्दा बढी गर्न नपाउने व्यवस्था पनि गरिएको विधान मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताए । उनका अनुसार देशको संघीय संरचनाअनुसार पार्टी संरचना बनाउने गरी विधान संशोधन मस्यौदा तयार पारिएको छ । देश संघीयतामा गएर स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भइसकेपनि कांग्रेस अझै पुरानै संरचनामा छ ।
त्यस्तै, संशोधित विधान मस्यौदामा पार्टीको केन्द्रीय विभागहरूको नाम र कार्यक्षेत्रमा पनि हेरफेर गरिएको छ । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाम केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रस्ताव गरिएको छ । सो प्रतिष्ठानमा स्थायी सचिवालयको व्यवस्था गर्ने र सोमार्फत् पार्टीको नीति तय गरिने प्रस्ताव गरिएको छ । प्रस्तावित विधान मस्यौदामा केन्द्रीय समितिको संख्या ८५ बाट बढाएर १ सय ३६ पु¥याइएको छ । सभापति, उपसभापति ३, महामन्त्री ३ सहमहामन्त्री ३ र कोषाध्यक्ष १ सहित ११ जना पदाधिकारी रहने उल्लेख छ । ६ महिलासहित निर्वाचित ३२ जना, प्रत्येक प्रदेशबाट ४ जना गरी २८ जना निर्वाचित, ४३ जनजाति थारु र कुल संख्याको २५ प्रतिशत सदस्य मनोनित गर्न पाउने व्यवस्था गरिएको छ ।
बिहीबारबाट दफावार छलफल
कांग्रेस प्रवक्ता शर्माले ३ महिना लामो छलफलपछि तयार पारिएको सो प्रस्तावमाथि आगामी बिहीबारबाट दफावार छलफल हुनेछ । “नेपाली कांग्रेसका विधान संशोधन मस्यौदा समितिका संयोजक एवं पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदनसहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा पेश गर्नुभयो,” प्रवक्ता शर्माले भने, “केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूलाई मस्यौदा अध्ययनका लागि ३ दिनको समय उपलब्ध गराइएको छ ।” केन्द्रीय समिति बैठकमा संशोधित विधानमाथि केन्द्रीय सदस्य र पदाधिकारीहरूले धारणा राखेपछि थप परिमार्जनसहित सो मस्यौदा पारित हुनेछ । मंसिर २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको महासमिति बैठकमा सो विधान पेश हुनेछ ।