बस दुर्घटनामा पाँचको मृत्यु «

बस दुर्घटनामा पाँचको मृत्यु

राजविराज- सप्तरीमा शुक्रबार राति भएको बस दुर्घटनामा परी एकै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर छ ।
सुनसरीको प्रसिद्ध तिर्थस्थल बराह क्षेत्रबाट घर फर्किने क्रममा राति ८ बजेको समयमा राजविराज भारदह सडक खण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १०–इनर्वामा को १ ख २७९९ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा सप्तरीको डाँक्नेश्वर नगरपालिका वडा नम्बर ५ की ६० वर्षिया सिकलीदेवी साह, ७० वर्षिया बेचनीदेवी यादव, ५५ वर्षिय दिनेश रजक, रजक पत्नी ५० वर्षिया बाउकीदेवी रजक र ६० वर्षिया ठकनी भनिने भुकनीदेवी यादव छन् । ३० जना सिट क्षमता भएको उक्त मिनिबसमा ६० जना सवार थिए ।
घाइतेहरुका अनुसार बस चालकले ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकदेखि दायाँतर्फ रहेको पोखरीमा पल्टिएको हो । पाँचै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले जानकारी दिए ।
दुर्घटनापछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरुको उद्धार गरिएको थियो भने पानीभित्र बसमा च्यापिएकै कारण पाँचै जनाको मृत्यु भएको हो ।
यता दुर्घटनाका ४९ जना घाइतेमध्ये १४ जनाको अवस्था गम्भीर छ । प्रनिता यादव, इनकुमारी पण्डित, बेचन यादव, ठकनीदेवी यादव, भोलवीदेवी यादव, अरुहलीदेवी यादव, अञ्जनीकुमारी यादव, रामउद्गार यादव, रेवणीदेवी यादव, गेनावतीदेवी यादव र चाँदनीकुमारी यादवको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । सकुनियादेवी पण्डित, अर्चनाकुमारी यादव र चन्द्रकुमार यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि रेफर गरिएको अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए । बाँकी घाइतेहरुको राजविराजमै उपचार भइरहेको छ ।
दुर्घटनामा परी मृत्यु भएका डाँक्नेश्वर नगरपालिकाका पाँचै जनाको परिवारजनलाई उक्त नगरपालिकाले क्रिया खर्चबापत जनही २५ हजारको दरले प्रदान गरिएको मेयर शिवनारायण साहले जानकारी दिए । उनका अनुसार शोकमा आइतबार नगरपालिकाको कामकाजसमेत बन्द गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्