आईएनजीओको मातहमा सरकार बस्नु आपत्तिजनक : कांग्रेस

‘सरकार र संसद्को लोगो दुरुपयोग भयो’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आईएनजीओको आयोजनामा हुन लागेको कार्यक्रममा सहआयोजक बसेको भन्दै सरकारको आलोचना गरेको छ । शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै ‘एसियन प्यासिफिक समिट ०१८’ मा नेपाल सरकार र संघीय संसद् सहआयोजक बसेकोप्रति खेद प्रकट गरेका हुन् ।
“कुनै पनि एनजीओ वा आईएनजीओले नेपाल सरकारलाई सहआयोजक बनाउने अवस्था आइसक्यो । सरकार त्यति दुब्लो भइसक्यो । कमजोर भइसक्यो । दुई तिहाईको अंकगणित आफूसँग छ भन्ने सरकारले बिर्सिसक्यो ?” प्रवक्ता शर्माले प्रश्न गर्दै भने, “प्रश्न सत्ता र प्रतिपक्षको होइन, प्रश्न नेपाल देशको हो । यो सबै कसरी भइरहेको छ भन्ने कुराको जवाफ प्रतिपक्षी दलका रूपमा हामी चाह ान्छौं ।”
धर्म प्रचारक संस्थाका रुपमा हेरिने युनिभर्सल पिस फेडेरेसन, नेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टी र नेपाल सरकारको संयुक्त आयोजनामा ‘एसिया–प्यासिफिक समिट २०१८’ मंसिर १४ देखि १७ गतेसम्म होटल हायातमा हुँदैछ । कार्यक्रमका लागि पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विभिन्न देशका पूर्व प्रमुख, सभामुख, राजनीतिक दलका नेताहरूलाई पत्र पठाएका थिए । युनिफिकेसन चर्चमा आबद्ध संस्थाहरु मुख्य आयोजक रहेको कार्यक्रमको नेतृत्व नेता नेपालले गर्ने आयोजक एक संस्थाले जनाएको छ ।
कार्यक्रमका लागि पठाइएको निम्तोपत्रमा नेपाल सरकार र सार्वभौम संसद्को लोगोसमेत दुरुपयोग भएकोमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको ध्यानाकर्षण गराएका छन् । सोबारे आफूले प्रधानमन्त्रीका सल्लाहकार र संसद सचिवालयका महासचिवलाई समेत फोन गरेर ध्यानाकर्षण गराएको प्रवक्ता शर्माले जानकारी दिए ।
त्यस्तै उनले सरकारप्रति कटाक्ष गर्दै दुई दिनअघि सरकार हराएको भन्दै खोजी गरेको र अहिले आईएनजीओको कार्यक्रममा फेला परेको बताए । “छोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै धर्नामा बसेका बुबाको मानसिक स्वास्थ्यमा समस्या आएको छ,” उनले भने, “मैले दुई दिनअघि पत्रकार सम्मेलन गरी सरकार कहाँ छ ? भनेको थिएँ । मैले सरकार यहाँ एनजीओको कार्यक्रममा भेटेँ । सरकार यसरी भेटिनु कति सुखद् छ ? एउटा एनजीओ आयोजक र सरकार सहआयोजक हुने कति सुन्दर छ ?”
जलवायु परिवर्तन, विकास, सुशासनजस्ता एजेण्डाहरु छलफलमा राखिएकोमा आफ्नो आपत्ति नभएपनि कार्यक्रमको भित्री उद्देश्य धर्म प्रचार भनेर समाचार आइरहेकोमा शर्माले चासो व्यक्त गरे । स्रोतका अनुसार जेस क्राइस्टको असली छोरी दाबी गर्ने युनिफिकेसन चर्चकी नेतृत्व गर्दै आइरहेकी हाक जा हान पनि कार्यक्रममा आउँदैछिन् । विभिन्न देशका विशिष्ट अतिथिहरुको अगाडि उनलाई ‘जेससको छोरी’ घोषणा गरेर मान्यता दिने भित्री उद्देश्य कार्यक्रमको रहेको सो संस्थासँग आवद्ध एक कर्मचारीले बताए ।
एकनाथ ढकाल अध्यक्ष रहेको तर विवादमा आइरहने युनिभर्सल पिस फेडेरेसनका लागि आर्थिक स्रोत उनै हानले पठाउने गर्छिन् । आफूले आफैंलाई भगवान घोषणा गर्ने, अन्य देशमा सभासमारोह र धर्म प्रचारमा पैसा लगानी गर्ने गरेको भन्दै हान र उनका छोराहरुबीचमै तिव्र मतभेद छ ।