माछापालनसँगै तरकारी खेती «

माछापालनसँगै तरकारी खेती

तेह्रथुमको फेदाप गाउँपालिकाका किसानले गाउँगाउँमा पोखरी निर्माण गरेर माछापालन गर्दै आएका छन् । खोलामा खेर गइरहेको पानीलाई पोखरीमा संंकलन गरी माछापालनका साथै तरकारी खेतीमा सिँचाइसमेत गर्दै आएका छन । गाउँ–गाउँका साथै घर घरमा किसानले एक घर एक पोखरी निर्माण अभियान सुरु गरेका छन् । माछापालनप्रतिको बढ्दो आकर्षण तथा तरकारी, फलफूल र बालीनालीमा सिँचाई गर्न सजिलो हुनेगरी घर नजिकै पोखरी निर्माण गरी किसानले पानी उपयोग गर्दै आएको फेदाप गाउँपालिका हाङश्रोङका देवीमाया भट्टराईले बताइन् ।
यहाँका प्राय सबै घरमा पोखरी निर्माण गरिएका छन् । किसानले पोखरीमा माछापालन गरेर आम्दानी गरेका छन् भने संकलित पानी प्रयोग गरेर तरकारी र फलफूल खेती सिँचित गरेका छन् । “यहाँ एक घर एक पोखरीको अभियान नै चलेको छ,” भट्टराईले भनिन्, “माछापालन गरेर आम्दानी नै नगरे पनि खान पुगेको छ, तरकारी र फलफूललाई सिँचाइ गर्न पनि सजिलो भएको छ ।” आफूले पनि दुईवटा पोखरी निर्माण गरी दुई वर्षयता माछापालन र पानी जम्मा गरेर सिँचाईमा प्रयोग गरेको उनले बताइन् ।
यहाँका पार्वता भट्टराई, चन्द्रबहादुर ढकाल, पुष्प सापकोटालगायतले पनि तीन वटासम्म पोखरी निर्माण गरेर माछापालन गरेका छन् । गाउँमा अरु धेरैले पोखरी निर्माण गरेर माछापालन गरिरहेको स्थानीय बासिन्दा चन्द्रबहादुर ढकालले बताए । उनले पोखरी निर्माण र माछापालनको महत्वबारे किसानले विस्तारै बुझ्दै गएको बताए । किसानले मुंग्री र कमनकार जातका माछाका भुरा लगाउने गरेका छन् । कमनकार जातको माछाले आफैं सन्तानोत्पादन गर्छ भने मुंग्री जातको माछाका सबै भुरा किन्नुपर्छ ।
खान स्वादिला यी दुवै जातको माछा गाउँ–गाउँसम्म जनजिब्रोमा झुण्डिएको पाइन्छ । हुर्किएका माछा व्यावसायिक रूपमा किनबेच गर्दा कम्तिमा पनि ५ सय रूपैयाँ प्रतिकिलोका दरले कारोबार हुन्छ । आफूले यो वर्षमात्रै २२ किलो माछा उत्पादन गरेको देवीमाया भट्टराईले बताइन् । माछापालनप्रति सबैको चासो र आकर्षण भए पनि व्यावसायिक रूप भने लिन नसकेको उनले बताइन् । माछापालनसम्बन्धी जानकारी नहुँदा भने यहाँका किसानलाई समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्