‘राष्ट्रपति र उपराष्ट्रपतिलाई विवादित बनाउन खोजियो’

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडका गाडी किन्ने र प्रहरी तालिम केन्द्र हटाउने विषयमा नकारात्मक प्रचार गरेर सम्मानित संस्थाको बदनाम गर्न खोजको प्रष्टीकरण दिएको छ । बिहिबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मलेनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले संवैधानिक संस्थालाई व्यक्तिसँग जोडेर बदनाम गर्न खोजिएको बताए ।
उनले गाडी खरिद प्रकरणबारे सञ्चारमाध्यममा आएका समाचारप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै गाडी खरिद गर्ने निर्णय मुलुक संघीय संरचनामा गएसँगै भएको बताए ।
“ती निकायलाई गाडी चाहिँदैन ? माथिल्लो पदमा रहेकालाई सवारी सुरक्षा चाहिँदैन ?,” उनले भने । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सबै प्रतिक्रियाबारे सरकार जानकार भएको उनले बताए ।
गाडी खरिद गर्ने निर्णय सरकारको भएको र यसमा राष्ट्रपतिको कुनै हात नहरेको भन्दै उनले राष्ट्रपतिले गाडी माग नगरेको नभई सरकारले नै व्यवस्था गर्न खोजेको बताए । “१८ करोडमा एउटामात्र गाडी किन्न लागेको होइन । राष्ट्रपतिलाई एउटा बुलेटप्रुफ गाडी किन्न लागेको हो,” उनले भने, “१८ करोडमा त आधा दर्जन गाडी किन्न खोजिएको हो र यो अघिल्लो सरकारकै निर्णय हो ।”
काठमाडौंमा भएको बिमस्टेक सम्मेलनताका बंगलादेशको ढाकाबाट गाडी भाडामा ल्याएको उल्लेख गर्दै उनले राष्ट्रपतिका लागि किनिने गाडी त्यस्ता सम्मेलनमा काम लाग्ने बताए । बाँस्कोटाले प्रहरी प्रतिष्ठान महाराजगञ्जबाट हटाएर काभ्रेको पनौतीमा बनाउने सहमति ४ वर्षअघि नै भएको उल्लेख गरे ।
बाँस्कोटाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आउने प्रस्ताव सरकारमा नआएको र उनको भ्रमण स्वीकृतसमेत नगरेको बताए । राम–जानकी विवाह महोत्सवमा सहभागी हुन आदित्यनाथ जनकपुर आउने र जनकपुर जयनगर रेलमार्गको उद्घाटन गर्ने चर्चा भइरहेको छ ।
बाँस्कोटाले कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका छन् । सरकारले गत ०७१ साउन १७ गते गएको सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितको लागि संकलन गरिएको रकम फुकुवा गर्ने निर्णय गरेको छ । मंसिर ९ (नोभेम्बर २५) गते महिला हिंसा विरुद्धको दिवस मनाइने निर्णय समेत सोही दिनको बैठकले गरेको छ ।
त्यस्तै, मंसिर ३ को निर्णय अनुसार सरकारले मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने भएको छ । त्यस्तै, ७ सय ५३ स्थानीय तहमा सो अन्तर्गत रोजगार केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ ।