‘वाइडबडी प्रकरणमा गहिरो छानबिन होस्’

हाइफ्लाई एक्ससँग जहाज खरिद गरिएको हो कि नियोजित रुपले नयाँ दर्ता गरिएको सो कम्पनीले एयरबससँग खरिद गरेर नेपाल एयरलाइन्सलाई भाडामा उपलब्ध गराएको हो ? सार्वजनिक खरिद ऐनको पालना भएको छ कि छैन ? गम्भीर घोटालाको आशंकामाथि गहिरो छानबिन गर्न कांग्रेस केन्द्रीय समितिले असोज २१ को बैठकबाट गरिएको माग म पुनः दोहो-याउन चाहन्छु ।
विश्वप्रकाश शर्मा
प्रवक्ता, नेपाली कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणको वास्तविकता रहस्यमय बनेको भन्दै छानबिनको माग दोहो-याएको छ । बिहीबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले वाइडबडी खरिदमा गम्भीर घोटालाको आशंका गरेको हो ।
“हाइफ्लाई एक्ससँग जहाज खरिद गरिएको हो कि नियोजित रुपले नयाँ दर्ता गरिएको सो कम्पनीले एयरबससँग खरिद गरेर नेपाल एयरलाइन्सलाई भाडामा उपलब्ध गराएको हो ? सार्वजनिक खरिद ऐनको पालना भएको छ कि छैन ?,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा भने, “गम्भीर घोटालाको आशंकामाथि गहिरो छानबिन गर्न कांग्रेस केन्द्रीय समितिले असोज २१ को बैठकबाट गरिएको माग म पुनः दोहो-याउन चाहन्छु ।” उनले वाइडबडी खरिद प्रकरणको वास्तविकता रहस्यमय बन्नु गम्भीर रहेको पनि बताए ।
त्यस्तै, कांग्रेसले जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटनका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउन लागेकोमा पनि आपत्ति जनाएको छ । मित्रराष्ट्रको लगानी र सहयोगलाई सदैव स्वागत र कदर गर्ने बताउँदै कांग्रेसले भनेको छ, “तर, कुनैपनि परियोजनाको उद्घाटन दूर राष्ट्रका प्रधानमन्त्रीबाट संयुक्त रुपमा हुने या निश्चित विभागीय तहबाट हुने परम्परा र मर्यादा उल्लंघन गर्न मिल्दैन ।” भारत उत्तर प्रदेशका मुख्यमन्त्री आउन लागेकोमा कांग्रेसले विमति जनाउँदै सरकारसँग सोबारे सार्वजनिक जवाफसमेत माग गरेको छ ।
त्यस्तै, कांग्रेसले मन्त्रिपरिषद्को निर्णय ७ दिनमा सार्वजनिक गर्ने सरकारको तयारी सूचनाको हक र पारदर्शिताको प्रतिबद्धता विपरित भएको जनाएको छ । सरकारले गरेका निर्णयहरूलाई २४ घण्टाभित्रै सार्वजनिक गर्ने प्रबन्ध मिलाउन पनि उसले माग गरेको छ ।
विकासका सबै ठूला परियोजना प्रधानमन्त्री कार्यालय मातहत ल्याउने तयारी संघीयताको मर्म प्रतिकूल भएको र यसले संघीयताको प्रभावकारितालाई झनै असर पु-याउने पनि कांग्रेसको ठहर छ । त्यस्तै, सरकार पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण प्रणालीलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न असफल भएको भन्दैै प्रवक्ता शर्माले भने, ‘‘वृद्धि हुँदा बोझ बोक्नुपर्ने नागरिकलाई मूल्य समायोजन गरी राहत दिन हामी सरकारसँग माग गर्दछौं ।’’ कम्युनिष्ट सरकार गठन हुनुअघिको बजार मूल्य र अहिलेको बजार मूल्य तुलना गरेर आमनागरिकले सरकारको सहजै मूल्यांकन गर्न सक्ने पनि शर्माले बताए ।
‘‘कांग्रेस सरकारको पालामा मूल्यवृद्धि भएको थिएन भन्दिन । कांग्रेस सरकारको पालामा माघ महिनामा धरहराको शीरमा मात्रै पुगेको मूल्य कम्युनिष्ट सरकार बनेका यी दिनहरूमा सगरमाथाकै शीरमा चढेर बजार मूल्यले छलाङ मारेको अवस्थाले सरकारको सफलतामाथि प्रश्न उठाउने अवस्था बनेको छ,’’ प्रवक्ता शर्माले भने ।
मंसिर ९ मा विधान मस्यौदा केन्द्रीय समितिमा
मंसिर २८ देखि पुस ३ सम्म काठमाडौंमा हुने कांग्रेसको महासमिति बैठकको तयारी तिव्र गतिमा भइरहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो । महासमितिमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज एवं पार्टीको आर्थिक नीतिका सम्बन्धमा प्रदेशस्तरीय अलग–अलग छलफल सम्पन्न भएका छन् भने पार्टीको विधानमा समसामयिक संशोधनका लागि देशमा १२ स्थानमा केन्द्रीकृत ढंगले सुझाव संकलन गरिएको प्रवक्ता शर्माले बताए ।
महामन्त्रीद्वारा प्रस्तुत गरिने सांगठनिक प्रतिवेदन एवं कोषाध्यक्षको प्रतिवेदन आन्तरिक तयारीको अन्तिम क्रममा रहेको र महासमिति बैठक तयारीकै मूल विषयमा केन्द्रीत रहेर मंसिर ९ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ । विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रस्तावित मस्यौदा बैठकमा पेश हुनेछ । महासमितिको बैठक नेपाली कांग्रेस केन्द्रीय कार्यालयको प्रांगणमै हुने भएको छ ।