Logo

कीर्तिपुर नगरपालिका र कृषि विकास बैंकबीच सम्झौता

कीर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ कारोबारहरू कृषि विकास बैंकमार्फत गर्ने गरी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले सम्झौतामा हस्ताक्षर गरेका छन् । देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिका विच बैंकिङ कारोबार गर्ने सम्झौताले नगरपालिकाको बैंकिङ कारोबारमा सहजता हुनुका साथै स्थानीय आम जनसमुदायलाई बैंकिङ कारोबार गर्न थप सुविधा पुग्नेछ ।
उक्त सम्झौता कार्यक्रमाका सिलसिलामा पाँच वर्षे सम्झौतापत्र आदन–प्रदान गर्दै नगर प्रमुख रमेश महर्जनले भने । सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको छ, यसको लाभ स्वभाविक रूपमा दुवैलाई मिल्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको बाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्ष रुपमा जोडिन पाउँदा संस्था गौरवान्बित भएको बताए ।
पाँच वर्षका लागि भएको सम्झौतामा बैंकले नगरपालिकाको सम्पूर्ण सरकारी कारोबार गर्नेछ भने नगरपालिकाका स्थायी कर्मचारीलाई बिनाधितो १५ लाख रुपैयाँसम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउनेछ । देशका ७७ जिल्लामा नेटवर्क रहेको बैंक र किसान तथा विद्यार्थीहरूको सहर वीचको सम्बन्धले बैंकिङ सेवालाई सहज बनाई वित्तीय सेवा व्यवस्थापनमा सहयोग पुग्न जाने देखिन्छ ।
सम्झौताअनुसार बैंकले नगरपालिका र नगरपालिकामा आवद्ध कर्मचारीलाई निःशुल्क विद्युतीय भुक्तानीका सेवा उपलब्ध गराउने छ भने संस्थागत सामाजिक उत्तरदायित्वको निश्चित रकम नगरपालिकामार्फत खर्च गर्नेछ । उक्त कार्यक्रममा नगरपालिकाको तर्फबाट नगर उप–प्रमुख एवं प्रवक्ता सरस्वती खडका, प्रमुख प्रशासकीय अधिकृत सीता परियारलगायत अन्य पदाधिकारीेको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्