संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधिसभा पुनस्र्थापना हुँदैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलीमा संविधानको प्रवन्धभन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।
मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्र्धन सशक्तीकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै आर्थमन्त्री पौडेलले छापामार शैलीमा संविधान र कानुनको प्रवन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यासहरू गर्ने सडयन्त्रमूलक क्रियाकलाप भएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए । उनले अनुशासित प्रतिनिधिसभा निर्माण गर्नका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधिसभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पनि बताए ।
संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशिल र अनुशासित प्रतिनिधिसभाको आवश्यकता रहेको तर्क गरे । सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका कामहरू गरिरहँदा ती कामहरूलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टी भित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा बिग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरू भएको पनि बताए ।
सरकारले गरेका कामबाट विपक्षीहरूले विरोध गर्ने विषय नपाउँदा, जनताले साथ र समर्थन दिइरहेका बेला पार्टी भित्रबाट असहयोग भएको पनि बताए । सरकारलाई जनताको पक्षमा राम्रा काम गर्न नदिने क्रियाकलाप भएकोले पनि प्रतिनिधि सभा विघटन गरी अनुशासित प्रतिनिधि सभा निर्माण गर्न चुनावमा जानुपरेको स्पष्ट पारे ।
निर्वाचनका लागि द्विविधा मुक्त भएर अगाडि बढ्नसमेत अर्थमन्त्री पौडेलले आग्रह गर्नुभएको छ । अझै पनि केही मानिसहरू प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ कि भन्ने भ्रमले छातीमा पोस्टर टाँसेर सडकमा बसिरहेको बताए । संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधिसभा पुनस्र्थापना हुने कुनै सम्भावना नभएको उनको भनाइ छ ।