Logo

आन्तरिक पर्यटन विकासको आवश्यकता

नेपालीहरूले अब विदेश होइन, स्वदेश घुमेर आफ्नो राष्ट्रको आन्तरिक पर्यटनलाई मौलाउन सघाउ पु-याउनुपर्छ ।

वर्तमान परिस्थितिमा निजी तथा साझेदारीमा खोलिएका ग्रामीण होमस्टेको विकास गर्नुपर्छ । यसो गर्न सकेमा आन्तरिक पर्यटकहरूबाट पनि धेरै आम्दानी हुन सक्छ ।

कोभिड–१९ को महामारीका कारण आज बाह्य पर्यटन धराशायी बनेकाले आन्तरिक पर्यटनलाई बढावा दिनु आवश्यक छ । कोरोनाको अन्त्य हुने निश्चित नभएकाले अब यहाँका युवायुवतीहरूले विदेश होइन, स्वदेश घुम्न लालायित हुनु जरुरी छ । यस्तो भएमा आन्तरिक पर्यटन चलायमान भई नेपाली अर्थतन्त्रमा परिणाममुखी परिवर्तन आउनेछ ।
वस्तुतः नेपाल एक खुला विश्वविद्यालय नै हो, जहाँ पहाड, झर्ना, तालतलैया, गुफा, सामाजिक रहनसहन र विविध जनजातिका आ–आफ्नै परम्पराहरू छन् । यिनीहरूको अध्ययन र अनुसन्धान गर्नु जरुरी छ । यस्तो अध्ययनलाई कल्चरल डिप्लोम्यासी भनिन्छ, जसको प्रवद्र्धन गर्न आवश्यक छ । कोरोना महामारीको यो कठिन परिस्थितिमा उक्त डिप्लोम्यासीले महŒवपूर्ण भूमिका खेल्न सक्छ । वास्तवमा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सोही डिप्लोम्यासी उपयोग गरी टुक्रिएको नेपाललाई एकीकरण गर्न सफल भएका थिए ।
यथार्थतः आज विश्वभरि जातीय पहिचानको कुरा उठिरहेका बेला पर्यटनको माध्यमबाट पनि आ–आफ्ना सांस्कृतिक पहिचान गराउन सकिन्छ । सदैव हात बाँधेर बस्यौं भने मुख र पेट पनि बन्द गर्ने अवस्था आउन सक्छ । त्यसैले अब कोभिड–१९ सँगै सम्पूर्ण पुरुष तथा महिला पनि गतिशील हुनुको विकल्प छैन ।
केही वर्षयता आन्तरिक पर्यटनको महत्व दिन–प्रतिदिन बढिरहेको छ । वास्तवमा नेपालमा विविध धार्मिक, सामाजिक र सांस्कृतिक परम्परा हुनाले यही विविधता हेर्नका लागि पर्यटकहरू आकृष्ट हुन्छन् ।
आज पश्चिमा देशहरूमा इको–टुरिजम र कल्चरल डिल्लोम्यासीसम्बन्धी धेरै काम भएका छन् । पर्यटकहरूले अनलाइन र इन्टरनेटको माध्यमबाट आफू पुगेका देश र स्थानको बारेमा प्रचारप्रसार गरिरहेका छन् । यसबाट धेरै व्यक्ति लाभान्वित भएका छन् ।
वास्तवमा एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले सरमाथा चढेपछि मात्र नेपालका हिमालहरूको धेरै प्रचार–प्रसार भयो । फलतः यो देशलाई विश्वले चिन्न थाले । विगतमा जति विदेशीहरू नेपाल घुम्न आए, उनीहरूले नेपालका बारेमा धेरैलाई जानकारी गराए ।
वर्तमान समयमा विश्वका धेरै मानिसहरू सहरभन्दा गाउँ बढी घुम्न चाहन्छन् । कोभिड–१९ को कारणले आज धेरैजसो मानिसलाई सहर वाक्क लाग्न थालेको छ । त्यसैले वर्तमान समयमा ग्रामीण क्षेत्रको महŒव दिनप्रतिदिन बढिरहेको छ ।
मानव स्वभावले नै प्रकृतिको नजिक रहेर जिउन चाहन्छ । त्यसैले ऊ सहर होइन; हिमाल, पहाड, नदीनाला, तालतलैया, सिमसार र ग्रामीण जीवनमा बाँचेका मानिसहरूका रहस्यमय जिन्दगीका बारेमा अनुघुलित हुन सिकाउँछ ।
धेरैजसो नेपालीहरू आफूलाई प्राकृतिक रूपमा सम्पन्न ठान्छन् । परन्तु यहाँ उभिरहेको सगरमाथा र सुतिरहेको तराई हेर्नमात्र पहिलाका जस्ता धेरै पर्यटक आउँदैनन् । अब लुम्बिनी र सगरमाथाको विज्ञापनले मात्र विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सक्दैन, किनभने आजकाल उनीहरू केही नयाँ स्थान वा दृश्य देख्न चाहन्छन् । उनीहरूको बसाइ लम्ब्याउन सके मात्र पर्यटन उद्योगबाट फाइदा लिन सकिन्छ, जसका लागि सहरकेन्द्रित देवी–देवताका मन्दिरहरू मात्र पर्याप्त छैनन् ।
आगामी दिनहरूमा विदेशी पर्यटकहरूलाई सहरमा होइन, गाउँघरमा आकर्षित गर्न सक्नुपर्छ । अब सहरको विज्ञापन होइन; गाउँको विज्ञापनमा विशेष जोड दिनुपर्छ । जसले गर्दा गाउँ नै नेपाल हो भन्ने कुरा बुझ्न सकियोस् ।
वर्तमान सरकारले पर्यटकहरूलाई गाउँ जान प्रेरित गर्नुपर्छ, किनभने यहाँ बेरोजगारीका समस्या दिन–प्रतिदिन बढ्दो क्रममा छ । यहाँका युवायुवतीहरूलाई खाडी मुलुकहरू जान रोक्नका लागि ग्रामीण पर्यटन र होमस्टे सञ्चालनमा सरकारले ध्यान दिनु जरुरी छ । यसो गर्न सकेमा विदेशी पर्यटकहरूले केही नयाँ अनुभूति गर्नेछन् ।
आगामी दिनहरूमा पर्यटकहरूलाई पशुपतिनाथ, स्वयम्भू र ठमेलको गल्लीमा मात्रै सीमित राख्न सकिने छैन । किनकि यो कुरा अब पुरानो भएको छ ।
नेपालमा घुम्न आउने धेरै पर्यटकहरू आर्थिक रूपले त्यति सम्पन्न हँुदैनन् । उनीहरू थोरै खर्च गरेर बढी अवलोकन गर्न चाहन्छन् । वास्तवमा उनीहरूको यहाँको बसाइ बढाएर बढी फाइदा लिने हो भने ग्रामीण पर्यटन र होमस्टेलाई बढी जोड दिनुपर्छ ।
वस्तुतः पर्यटकहरूका लागि काठमाडौं एक ट्रान्जिट प्वाइन्ट मात्र हो । वर्तमान अवस्थामा पर्यटनबाट फाइदा लिन ग्रामीण पर्यटन र होमस्टे सञ्चालका आधारशिला खडा गर्न जरुरी छ । सरकारले निजी स्तरबाट सञ्चालनमा आएको होमस्टे, रिसोर्ट र ग्रामीण क्षेत्रमा खोलिएका होटलहरूलाई सहुलियत ऋण प्रदान गर्नुका साथै करमा समेत छुट दिएर उनीहरूको व्यापारिक मनोबल बढाउनु जरुरी छ ।
वर्तमान परिस्थितिमा निजी तथा साझेदारीमा खोलिएका ग्रामीण होमस्टेको विकास गर्नुपर्छ । यसो गर्न सकेमा आन्तरिक पर्यटकहरूबाट पनि धेरै आम्दानी हुन सक्छ ।
नेपालीहरूले अब विदेश होइन, स्वदेश घुमेर आफ्नो राष्ट्रको आन्तरिक पर्यटनलाई मौलाउन सघाउ पु¥याउनुपर्छ । उक्त पर्यटनलाई बढावा दिन सके देशका विभिन्न ठाउँमा निजी तथा साझेदारीमा खोलिएका होमस्टेका सञ्चालकहरू बेरोजगार हुनेछैनन् । योबाहेक गाउँलेहरूसँग रमाइलो गर्ने र उनीहरूको खेतबारीमा उब्जेको आर्गानिक खाना खाने गर्नाले स्थानीय संस्कृतिको आदान–प्रदान भई यहाँको आर्थिक विकासमा पनि केही टेवा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्