अमेरिकी लगानीका लागि बौद्धिक सम्पत्ति कानुन सुधार गर्न सुझाव

संयुक्त राज्य अमेरिकाले नेपाललाई बौद्धिक सम्पत्ति कानुन सुधार गर्न सुझाव दिएको छ ।
वासिंगटनमा सम्पन्न नेपाल र संयुक्त राज्य अमेरिका व्यापार तथा लगानी सम्झौता परिषद् (ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रीमेन्ट काउन्सिल) को चौथो बैठकमा अमेरिकाले उक्त सुझाव दिएको हो ।
उक्त बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्र कुमार घिमिरे तथा अमेरिकी सरकारको तर्फबाट युनाइटेड स्टेट्स ट्रेड रिप्रिजेन्टेटीभ (युएसटीआर) असिस्टेन्ट रिप्रिजेन्टेटीभ मार्क लिन्स्कटले बैठकको नेतृत्व गरेका थिए। नेपाली पक्षले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा गरिन लागेको सुधार, श्रम ऐनमा रहेका व्यवस्थाहरु, नियमित विद्युत् आपूर्ति, तथा भारतीय बन्दरगाहबाट नेपालमा सीधै तेश्रो मुलुकबाट आयातीत कार्गो लैजान सकिने व्यवस्थाले लगानीको वातावरण सुधार भएको बताएको थियो। युएसटीआरका प्रतिनिधिहरुले अमेरिकी लगानीका लागि बौद्धिक सम्पत्ति कानुन र कानुन कार्यान्वयन निकायहरुको संस्थागत क्षमता सुधारको प्रश्न उठाएका छन् ।
अमेरिकी अधिकारीहरुले भारतीय बन्दरगाहबाट सीधै नेपालका सुख्खा बन्दरगाहमा कार्गो आपूर्ति हुने ट्रान्ससीपमेन्ट सम्बन्धी व्यवस्था र चीनतर्फबाट पनि समुद्रसम्म पुग्न सक्ने गरी भएको पारवहन सन्धि कार्यान्वयनका लागि तयार भएको प्रोटोकलमा रहेका व्यवस्थाहरुका सम्बन्धमा चासोका साथ छलफल गरेका थिए। उत्पादन लागत घटाउन आयात तथा निर्यातमा अझै लागत प्रभावि र कम झञ्झटीलो व्यवस्था अबलम्बन गर्दै जानुपर्नेमा अमेरिकी अधिकारीहरुले जोड दिएका छन् ।
मुलुकको व्यापारघाटा बढिरहेको बेला अमेरिकामा स्वदेशी वस्तुको व्यापार कसरी बढाउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिए । अमेरिकामा नेपाली वस्तुको निर्यात न्युन हुने गरेको छ । अमेरिकाले नेपाललाई वस्तु निर्यातको लागि भन्सार छुट दिए पनि निर्यात बढ्न सकेको छैन ।