लक्ष्मी बैंक र सोलुको थुलुङ्गदूधकोसी गाउँपालिकाबीच सम्झौता

काठमाडौं, २२ पुस (कास) ः लक्ष्मी बैंकले सोलुखुम्बु जिल्लाको थुलुङ्गदूधकोसी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि गाउँपालिकासँग सम्झौता गरेको छ । यस सम्झौताअन्तर्गत गाउँपालिकाको सहजीकरण एवं सिफारिसमा स्थानिय उद्यमी, सहकारी लगायतअन्य संघ संस्थाहरुले बैंकबाट सहुलियत दरमा कर्जा प्राप्त गर्न सक्नेछन् ।
एक कार्यक्रमबीच लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ्गदूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सो कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले गाउँपालिकाहरुमा कृषि तथा पर्यटनलगायत सम्भाव्यता बोकेका क्षेत्रहरुमा कर्जा लगानी गर्न बैंक तयार रहेको बताए । सम्झौताले स्वरोजगार तथा उद्यमशिलता विकास गरी आर्थिक रुपमा सबल गाउँपालिका निर्माण गर्न सहयोग पुग्ने अपेक्षा राखेको बैंकले जनाएको छ ।