आर्थिक मामिला मन्त्री बोहराद्वारा पदबाट राजीनामा

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।
आर्थिक मामिला मन्त्री बोहराले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएको जनाएका हुन् । उनले आफ्नो तीन वर्षे कार्यकालमा गरेका कामको विवरण सहितको पाँच पेजको राजीनामा पत्र मुख्यमन्त्री भट्टलाई बुझाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धार (केपी ओलीपक्ष र प्रचण्ड–माधव समूह) मा विभाजित भएपछि आर्थिक मामिला मन्त्री बोहरालाई ओलीले आफ्नो पक्षको केन्द्रिय सदस्य नियुक्त गरेका थिए । पछिल्लो समय ओली पक्षमा खुलेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको नजिक रहेका आर्थिक मामिला मन्त्री बोहरा ओली पक्षमा खुल्ने वा नखुल्नेमा अलमलमा थिए । उनले काठमाडौं गएर दुई समूहका नेताहरुलाई भेटेर फर्केपछि ओली पक्षमा खुल्दै पदबाट राजीनामा दिएका हुन् ।
पुर्व आर्थिक मामिला मन्त्री बोहराले पदबाट राजीनामा दिंदै ओलीपक्षमा खुलेपछि सुदूरपश्चिम प्रदेश सभामा ओलीपक्षका सात जना प्रदेश सांसद पुगेका छन् । ३९ जना प्रदेश सांसद् मध्ये प्रचण्ड–माधव समूहमा ३२ जना सांसद् रहेका छन् । प्रदेश सरकार गठन गर्नका लागि २८ जना सांसद् चाहिनेमा अझै ३२ जना सांसद् प्रदेश सरकारको पक्षमा रहेकोले प्रदेश सरकारलाई असर भने परेको छैन ।
पुर्व आर्थिक मामिला मन्त्री बोहराले पाँच पेजको राजीनामा पत्रमा आफू पदमा रहेको बेला गरेको राम्रा कामहरुको व्याख्या गरेका छन् । उनले पत्रकार सम्मेलनमा आफूलाई नेकपाको दुवै समूहबाट पदबाट राजीनामा दिन दवाव परेकाले राजीनामा दिन बाध्य भएको जनाए । “दृढ इच्छाशक्ती र यथेष्ट प्रयत्नका बाबजुद जनभावना अनुसार काम गर्न विभिन्न कठिनाई एवं चुनौतिको सामना गर्नु परेकोले प्रदेश सरकारको मन्त्री पदमा बसीरहदा प्रदेशको जनताको मतको अपमान हुने देखिएकाले राजीनामा गरेको घोषणा गर्दछु,” बोहराले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
उनले राजीनामा पत्रमा आफूले कोभिड–१९ को रोकथामदेखि प्रदेशको आर्थिक विकासका लागि गरेको योगदानको चर्चा गरेका छन् । “प्रदेश खाद्य संस्थान, विद्युत् विकास बोर्ड, प्रदेश सुलभ यातायात परिवाहन निगम, प्रादेशिक विश्व विद्यालय, जडिबुटी संकलन तथा प्रशोधन कम्पनीलगायत केही महत्वपूर्ण आयोजनाको काम सोच र दृढ इच्छाशक्ति हुनुको बाबजुद पनि कार्यान्वयन गर्न सकिएन,” उनले राजीनामामा भनेका छन्, “क्षमा चाहन्छु र आगामी दिन भुमिका आयो भने पुनः प्रयास गर्ने छु ।”
मन्त्री बोहरासँगै मुख्यमन्त्रीबाट पदमुक्त गरिएका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरा, नेकपा प्रदेशसभा सदस्यहरु नेपालु चौधरी, लिलाधर भट्ट, महेशदत्त जोशी, रतन थापा, ग्याल्बुसिंह बोहरा सहित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मुख्यमन्त्री भट्टलाई राजीनामा दिए । उनको राजीनामा मुख्यमन्त्री भट्टले स्वीकृत गरेका छन् ।