ढाकामै रमाउँछ मन कुमारीको मन «

ढाकामै रमाउँछ मन कुमारीको मन

तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङकी ३७ वर्षीया मन कुमारीलाई ढाका बुन्न भ्याइनभ्याइ भएको छ । उनी बिहानदेखि साँझ अबेलासम्म ढाकाको तानमै तल्लिन हुने गरेकी छन् ।
१ छोरा र २ छोरीकी आमा मन कुमारीले ढाका बुनाइबाटै जीविकोपार्जन गर्दै आएकी छन् । उनका श्रीमान् वैदेशिक रोजगारीका क्रममा कतारमा पुगेका छन् । घरको आर्थिक अवस्था कमजोर भएकाले २०६५ सालमा उनका श्रीमान्ले शुक्रबारे बजारमा चियापसल सञ्चालन गरेका थिए । ऋण लिएर सुरु गरेको व्यवसायले परिवार धान्नै मुस्लिक परेपछि उनी वैदेशिक रोजगारीमा होमिए । तर, मन कुमारीले भने २०६६ सालमा सीटीईभीटीले सञ्चालन गरेको तीन महिने ढाका बुनाइसम्बन्धी तालम लिएपछि त्यसैलाई पेशा बनाउन थालेकी हुन् । तालिम लिएसँगै उनले एकसेट तान निःशुल्क पाएपछि ढाका बुनाइ सुरु गरेको बताइन् ।
“मेहनत गरे आफ्नै आँगनमा सुन फल्छ,” मन कुमारीले भनिन्, “सुरुका दिनमा ढाका बुन्न केही कठिन भए पनि अहिले विस्तारै सहज हुँदै आएको छ ।” ढाका बुनाईमा निरन्तरता दिँदै आएकी उनलाई गरिबी निवारण कोषअन्तर्गत लघुउद्यम विकास समितिले आयोजना गरेको ढाका बुनाइ पुनर्ताजकीसम्बन्धी ४५ दिने तालिममा सहभागी हुने मौका पाएपछि थप उर्जा संकलन गरेर त्यसैलाई मुख्य व्यवसाय बनाएकी छन् ।
ढाका बुनाइको निरन्तरतासँगै गरिबी निवारण कोषअन्तर्गत जापान सामाजिक विकास कोषको सहयोगमा देउराली सोसाइटी तेह्रथुमको आयोजना ५ दिने मूल्य निर्धारणसम्बन्धी तालिममा सहभागी हुने मौका पाएँसँगै उनले छथर क्षेत्रका १८ जना महिलालाई ढाका सम्बन्ध तालिमसमेत दिएकी छन् । प्रशिक्षार्थीदेखि प्रशिक्षक बन्न सफल भएकी मनकुमारी ढाकाको तानमा रमाउनुको मज्जा नै बेग्लै भएको बताउँछिन् । मन कुमारीले सारी, चोली, पछ्यौरा, टाई, लुङ्गी, मफलरलगायत ढाकाका सम्पूर्ण सामग्री तयार पार्ने गरेकी छन् । आफूले तयार गरेका ढाकाका कपडा धरान, विराटनगर, काठमाडौंलगायतका स्थानमा बिक्री गर्दै आएको उनले जानकार दिइन् ।
ढाका व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले उनले गत असारमा मन कुमारी ढाका उद्योग दर्ता गरी सञ्चालनमा ल्याएकी छन् । कपडा बिक्रीबाट मासिक २० हजार रुपैयाँ आम्दानी गर्दै आएकी उनले सहज रूपमा घरव्यवहार चलाउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्