रोजगारी सिर्जनाको बाधक अस्थिरता

सरकार साँच्चिकै निजी क्षेत्रको लगानी बढोस् र रोजगारी सिर्जना होस् भन्ने चाहन्छ भने त्यो व्यवहारमा पनि देखिनुप-यो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा निजी क्षेत्रलाई भेट्दै मुलुकको बढ्दो व्यापारघाटाले अर्थतन्त्र स्वावलम्बी बन्न नसकेको कारण लगानी बढाई रोजगारी सिर्जना गर्न आग्रह गरेकी छन् । विगतमा पनि राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्रीलगायत अन्य मन्त्री एवं जिम्मेवार सरकारी अधिकारीहरूले निजी क्षेत्रलाई लगानी बढाउन आह्वान गर्दै आएका छन् । नेपालमा लगानीमैत्री वातावरण भएको तथा सरकारले लगानीको संरक्षण गर्ने प्रतिबद्धता पनि पटक–पटक भन्दै आएको छ । तर, लगानी गर्न तथा रोजगारी सिर्जना गर्न कानुनमा रहेका छिद्र समातेर एवं जबर्जस्ती चन्दा असुली, डर, धाक, धम्की तथा निजी सम्पत्तिको सुरक्षामा समेत चुनौती आइरहँदा निजी क्षेत्रले कसरी लगानी गर्न सक्छ भन्ने कुरामा सरकारको हेक्का नपुगेको देखियो । अझ संगठित रूपमा नै कुनै पनि लगानी बन्द गर्ने धम्कीसमेत पछिल्ला महिनाहरूमा लगानीकर्ताले बेहोरिरहँदा सरकार तथा राष्ट्रपतिको आह्वान कता–कता औपचारिकताका लागि मात्रै हो कि जस्तो देखिन्छ । सरकार देशमा लगानी भिœयाउन तथा भित्रिएका लगानीको संरक्षण गर्न गम्भीर नभएको व्यवहारतः भोगिरहेको निजी क्षेत्रले राष्ट्रपतिको आह्वानलाई कसरी लिए होलान् । कानुनसम्मत ढंगले चलेका लगानीमा पनि जबर्जस्ती ढंगले हूलदंगा गर्ने तथा गरिखान नदिने परिपाटी तथा स्कुलिङले नागरिक सधैं राजनीतिक दलका कार्यकर्तामात्र बनून् र नेपाल गरिबीको दुश्चक्रमा नै परिरहोस् भन्ने मनोविज्ञानले कतै काम गरिरहेको त छैन । किनकि गरिबी बढ्दा तथाकथित पढेलेखेका तथा चेतनशील भनिने एवं राजनीतिलाई नै उद्योग बनाएका एकथरी वर्गका लागि कार्यकर्ताको खाँचो पर्दैन । तर, यदि देशमा गरिखाने वातावरण बन्यो र सबै नागरिकले आआफ्नो पेसा–व्यवसाय गरेर खान थाले भने राजनीतिलाई नै उद्योग बनाउने तथा बेरोजगार युवा बटुलेर गैरकानुनी चन्दा असुली गरिखाने जमातका दिन सकिने भए । त्यसैले नेपालमा पनि कानुनलाई खल्तीमा हालेर हूल जम्मा गरी जबर्जस्ती अरूको सम्पत्ति कब्जा गर्ने तथा डर, धाक र धम्कीले चन्दा असुलेझैं असुली गरिखाने जमातको बिगबिगी छ । यदि सरकार साँच्चिकै निजी क्षेत्रको लगानी बढोस् र रोजगारी सिर्जना होस् भन्ने चाहन्छ भने त्यो व्यवहारमा पनि देखिनुप-यो ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा राष्ट्रपति भण्डारीले नेपाल बाह्य देशसँग निर्भर रहनुपर्ने अवस्थामा रहेको भन्दै यस्तो अवस्थालाई ‘ब्रेक’ गरी आफ्ना लागि आवश्यक वस्तु आफैं उत्पादन गर्नुपर्ने धारणा पनि राखिन् । राष्ट्रपतिले भनेझैं यदि स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हो भने सरकारले त्यसैअनुरूप व्यवहार पनि देखाउनुप-यो । स्वदेशी लगानी बढ्नासाथ विदेशी लगानी पनि आकर्षित हुन्छ । साथै, नेपालको प्रतिस्पर्धात्मक क्षेत्र भनेर वर्षौंदेखि कृषि, ऊर्जा, पर्यटन क्षेत्रको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने कुरा पनि व्यवहारतः देखिएन । नेपालसँग पर्याप्त सम्भाव्यता भएर पनि पछि परिरहेको यथार्थ हो । तर, यसमा निजी क्षेत्रभन्दा सरकार बढी जिम्मेवार भएर नीतिगत रूपमा लगानी सुरक्षाको वातावरण बनाउनुपर्छ । प्राकृतिक स्रोतसाधनमा धनी भएर बजारका लागि कुनै समस्या नभएर पनि पर्याप्त लगानी नआउनुका कारणसहित श्वेतपत्र निकालेर सरकारलाई तत्काल कठोर निर्देशन दिनुपर्छ । देश निर्माणमा लाग्नुपर्ने युवा जनशक्ति देशमा रोजगारी नपाएर बाध्य भएर बाहिर जानुपर्ने परिस्थिति छ भने नेपालका उद्योग–व्यवसायमा जनशक्ति नभएर समस्या छ । सरकारले यसका लागि पनि सहजीकरण गर्न ढिला भइसकेको छ । आर्थिक क्रान्तिको युग सुरु भएको घोषणा गर्ने सरकार नै अन्य तपसिलका कुरामा व्यस्त भएर औद्योगिक वातावरण बिगार्नतिर लागेपछि देशमा भएका लगानी पनि बिस्तारै पलायन हुन्छन्, रोजगारीको त कुरै छोडौं ।